बुधबार, जेष्ठ २, २०८१

कक्षा १२ को परीक्षा साउन ३१ देखि हुने

  
कर्णाली टाइम्स बुधबार, साउन ६, २०७८


सुर्खेत। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो।
परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
‘साउन ३१ गतेदेखि परीक्षा लिने बोर्डले निर्णय गरेको छ,’ उनले भने, ‘१०० पूर्णांककै लिखित परीक्षा लिन्छौं।’ परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो। जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो।

कक्षा १२ मा परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए।