बिहीबार, बैशाख २०, २०८१

समयमै वडाध्यक्ष नआएको भन्दै वीरेन्द्रनगर–१ को वडा कार्यालयमा आगजनी

  
कर्णाली टाइम्स बुधबार, असोज ६, २०७८


सुर्खेत। समयमै वडा अध्यक्ष नआएको भन्दै वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा आगजनी गरिएको छ। आज बिहान १० बजेपछि वडा कार्यालयमा आगजनी भएको वडा अध्यक्ष गंगाराम सुनारले जानकारी दिए।
कसले आगजनी गरेको भन्ने खुलेको छैन। वडा अध्यक्ष सुनारका अनुसार आगजनी गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन थालिएको छ।
‘बिहान म एउटा कार्यक्रम भएर त्यहाँ अतिथिका रुपमा गएको थिएँ, मलाई १० बजेर ४ मिनेटमा कार्यालयको ल्याण्ड लाईनबाट फोन आएको थियो,’ उनले भने, ‘फोन गर्ने मान्छेले कार्यालय समय भयो तपाई किन आउनुभएन भनेर सोधे, मैँले म कार्यक्रममा भएकोले कार्यवाहक वडाध्यक्ष आएर गर्नुहुन्छ भनेँ। त्यपछि आगजनी गरिएको खबर आयो।’
आगजनी गर्ने व्यक्तिले कार्यालयमा पेट्रोल खन्याएर आगजनी गरेको उनले बताए।
आगजनीबाट वडाध्यक्षको कार्यकक्षका कुर्ची, टेबुल, सोफा लगायतका सबै सामान र कागजात जलेका छन्। राजस्व फाँट र कम्प्युटर कक्षका विद्युतीय तारहरु पनि जलेका छन्।
वडाध्यक्ष सुनारका अनुसार महिला वडा सदस्य बुद्धिसरा सुनार कार्यवाहक वडा अध्यक्ष छिन्। आफूले नै गर्नुपर्ने काम भएपनि केही समय कुर्न र नत्र भने कार्यवाहक अध्यक्षले काम गरिदिने बताएको अध्यक्ष सुनारले बताए।