बिहीबार, बैशाख २०, २०८१

काँग्रेसले सार्वजनिक गर्यो सुर्खेतसहित थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची

  
कर्णाली टाइम्स आइतवार, असोज १०, २०७८

सुर्खेत। नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। सभापति शेरबहादुर देउवाले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको छ।
सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ।
क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन। अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ।
कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन। बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची पनि आजै सार्वजनिक हुने सम्भावना रहेको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले पटकपटक सहमति गरी क्रियाशील सदस्यता विवाद मिलाइरहेका छन्। शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले छिट्टै क्रियाशील सदस्यताको सूची प्रकाशित गरेर दसैंअगाडि नै वडा र गाउँ/नगर अधिवेशन गर्ने निर्णय गरेको थियो।
साथै वडा अधिवेशन भएका जिल्लाहरूमा गाउँ/नगर अधिवेशन भएका छन्। शनिबारदेखि गाउँ/नगर अधिवेशन भएका हुन्। २१ वटा हिमाली जिल्लामा कांग्रेसले प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र हुँदै असोज १८ भित्र जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। बाँकी जिल्लामा भने दसैंलगत्तै अधिवेशन हुनेछन्। सेतोपाटी