शनिबार, बैशाख २२, २०८१

एनआरएनए चुनावमा समन्वयका लागि काँग्रेसका ८ नेतालाई जिम्मेवारी

  
कर्णाली टाइम्स आइतवार, असोज १७, २०७८

सुर्खेत। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावका लागि समन्वय र सहयोग गर्न ८ नेतालाई जिम्मेवारी दिएको छ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा असोज ७ मा बसेको बैठकको निर्णयअनुसार कांग्रेसले कुल आचार्य नेतृत्वको समूहलाई एनआरएनएमा जिताउन भन्दै समन्वयका लागि ८ नेतालाई जिम्मेवारी दिएको छ।
विदेशस्थित कांग्रेसका जनसम्पर्क समितिहरूलाई आवश्यक समन्वय गर्नका लागि भन्दै नेताहरूलाई जिम्मेवारी दिएको हो।
कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापालाई युरोप क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ। एशिया क्षेत्र भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले हेर्नेछन्।
साथै अमेरिका क्षेत्र हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई दिइएको छ। केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख रहेका गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति हेर्ने जिम्मेवारी दिइएको छ।
साथै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई ओसियाना क्षेत्र हेर्ने जिम्मेवारी दिइएको हो। कांग्रेसले एनआरएनएमा आचार्य समूहलाई समर्थन गरेको छ।