मंगलबार, बैशाख १८, २०८१

मौसमका कारण अवतरण हुन नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको जहाज सुर्खेतमा सुरक्षित अवतरण

  
कर्णाली टाइम्स बुधबार, असोज २०, २०७८


सुर्खेत। सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेर नेपालगञ्ज डाइभर्ट भएको बुद्ध एअरको जहाज पुनः सुर्खेत फर्किएको छ। नेपालगञ्ज विमानस्थलमा केही समय अवतरण गरेर जहाज पुनः सुर्खेत फर्किएको हो।
सुर्खेत विमानस्थलमा सुरक्षित अवतरण भएको छ। बिहान ८ बजेर १ मिनेटमा त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको यु ४–१३३ फ्लाईट नम्बरको जहाज सवा ९ बजे सुर्खेतको आकाशमा पुगेको थियो।
सुर्खेतको आकाशमा ३ फन्को लगाए पनि जहाज अवतरण हुन सकेको थिएन।
बुद्ध एअरका सुर्खेत प्रमुख नर बहादुर बस्नेतका अनुसार सुर्खेत उपत्यका छेउको मौसम प्रतिकुल हुँदा सुरुमा जहाज अवतरण हुन नसकेको हो।
तत्काल नेपालगञ्ज गएको जहाज १० बजेर २ मिनेटमा त्यहाँबाट पुनः सुर्खेतका लागि उडेको थियोे । बिहान १० बजेटर २५ मिनेटमा सुर्खेत विमानस्थलमा अवतरण भएको हो ।
जहाजमा ४६ जना यात्रु र चारजना चालक दलका सदस्य सवार थिए ।