शनिबार, असार १४, २०८२

एमसीसी आज संसदमा टेबुल गरिँदै

  
कर्णाली टाइम्स आइतवार, फागुन ८, २०७८


सुर्खेत। सत्ता गठबन्धनबीच सहमति भएपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता आजै संसदमा टेबल गर्न लागिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी थिए। बैठकमा तत्काल सत्ता गठबन्धन नै टुट्ने गरी उत्पन्न समस्या टार्ने गरी नेताहरु एमसीसी टेबल गर्न सहमत भएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले शीर्ष नेताहरुको बैठकले संसद्को आइतबारकै बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटाएको बताए।
गठबन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको बताए । ‘सडकमा होइन, संसद्मा गहन छलफल गरेर निर्णयमा पुगौँ भनेर सहमति भयो,’ मन्त्री कार्कीले भने, ‘आजको बैठकमा एमसीसी टेबल हुन्छ ।’