शुक्रबार, बैशाख २१, २०८१

कर्णाली उत्सवको तेस्रो संस्करण शुक्रबारदेखि

  
कर्णाली टाइम्स बिहीबार, फागुन २६, २०७८


सुर्खेत। शुक्रबारदेखि कर्णाली उत्सव (कुडा कर्णालीका) को तेस्रो संस्करण सुरु हुँदैछ। सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उत्सव सुरु हुन लागेको हो।
भोलिदेखि फागुन २९ गतेसम्म चल्ने यसपटकको उत्सवमा समसामयिक विषयमा १२ वटा सत्र सञ्चालन हुनेछन्।
विशेषगरी कर्णालीको सन्दर्भलाई उठान गर्नेगरी यो बर्ष पनि सत्रहरु सञ्चालन गर्न लागिएको आयोजक ऋति फाउण्डेशनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए।
यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौमा ‘झरो–उजेलोको खरो’, छैटौंमा ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्र सञ्चालन हुनेछन्।
सातौंमा ‘रैबार र रैला’, आठौंमा ‘शुन्य समय’, नवौंमा ‘वाद विवाद र संवाद’, दशौंमा ‘विकासको बाटो’, एघारौंमा ‘उमेरको उमंग’ र बाह्रौंमा ‘कर्णाली चिन्तन (दीगो विकास र कर्णाली)’ शिर्षकमा सत्रहरु सञ्चालन गरिनेछ।
पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’ मा गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, बसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी, तेस्रो ‘आरन, अन्वेषण र आविस्कार’मा महाविर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ताका रुपमा रहनेछन्।
चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाचौं सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन्।
‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्रमा डा. सुदीप ठकुरी, डा. राधा वाग्ले, कृष्ण रोकाया र युवराज कार्की, ‘रैबार र रैला’ सत्रमा डा. बैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोईराला वक्ताका रुपमा हुनेछन्।
‘शुन्य समय’ सत्रमा कर्णाली प्रदेश सभा सदस्यहरु देवी ओली, दानसिंह परियार र प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकी वक्ताका रुपमा रहनेछन्।
‘वाद विवाद र संवाद’ सत्रमा प्रतिनिधि सभा सदस्य तथा काँग्रेस महामन्त्री गगन थापा र शहरी विकास मन्त्री रामकुमारी झाँक्री वक्ता हुनेछन्।
‘विकासको बाटो’ सत्रमा डा. विमला राई पौडेल, कर्णाली प्रदेशका अर्थमन्त्री विन्दमान विष्ट, मधु मरासिनी वक्ताका रुपमा रहनेछन्। ‘उमेरको उमंग’ सत्रमा सुनिता रावल, पञ्चा सिंह, आरती लामा र पुनम भट्ट भट्टराई वक्ता छन्।
कर्णाली चिन्तन सत्र डा. विश्व पौडेलले सञ्चालन गर्नेछन्।
कर्णाली उत्सवभर तीनवटा पैकलो (आत्मकथा), कविता साँझ र गजल महाफिल पनि सञ्चालन गरिने आयोजकल संस्थाले जनाएको छ।