सोमवार, बैशाख १७, २०८१

सबै व्यवसायीलाई समावेश गरी सुर्खेत उद्योग वाणिज्य संघलाई साझा बनाउन मेरो उम्मेदवारी: हर्षविक्रम खड्का

  
कर्णाली टाइम्स मंगलबार, चैत्र २९, २०७८

भिडियो अन्तर्वार्ताः
सुर्खेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ। २०७९ वैशाख ४ गते संघको निर्वाचन तोकिएको छ। नयाँ कार्यसमितिको लागि दुईवटा समूह निर्वाचनमा सहभागी भएका छन्। एक समूह नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समीकरणअनुसार अगाडि बढेको छ। नेपाली काँग्रेस निकट व्यवसायीहरुको अर्को समूह यो समिकरणमा बनेको समूहको प्रतिस्पर्धीका रुपमा उभिएको छ।
समिकरणमा अघि बढेको समूहको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले नेतृत्व गरेका छन् भने अर्को समूहको नेतृत्व हालका महासचिव लक्ष्मण कँडेलले नेतृत्व गरेका छन्।
अहिलेको चुनावको सन्दर्भमा हामीले संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्कासँग कुराकानी गरेका छौं। उक्त कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छः

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेदवारी किन?
पहिलो कुरा त संघमा बाहिर रहनुभएका सम्पूर्ण सदस्यहरुलाई आवद्ध बनाएर संघलाई सबैको साझा बनाउनको लागि लागि मेरो मैंले अध्यक्षमा उम्मेदवारी दिएको छु। अर्को कुरा पूर्वाधार विकासको क्षेत्रमा पनि समन्वय गर्न मेरो उम्मेदवारी महत्वपूर्ण हो।
जस्तै, सुर्खेतमा विमानस्थल सानो भएपछि अर्को प्रदेशमा पुगेर हवाई सेवा लिनुपर्ने बाध्यता अहिले पनि छ। यो जुन अवस्था छ, त्यसलाई अन्त्य गर्न सुर्खेत विमानस्थल विस्तार अनिवार्य छ। यसका लागि सुर्खेत उद्योग वाणिज्य संघको तर्फबाट सबै क्षेत्रसँग समन्वय गर्ने मेरो उद्देश्य हो।
व्यवसायीहरुलाई कोभिडल पारेको प्रभाव अहिले पनि कायमै छ। प्रभावित व्यवसायीहरुलाई पुरानै अवस्थामा फर्काउने प्रयास गर्न, प्रदेशको राजधानीमा वृहत क्षमताको औद्योगिक क्षेत्र घोषणा गरी उद्योग क्षेत्रमा फड्को मार्नका लागि मेरो उम्मेदवारी हो।

उम्मेदवार बन्दै गर्दा तपाईका प्रतिबद्धताहरु के छन्, मुख्यमुख्य भन्दिनुस् न?
मेरा प्रतिबद्धताहरु मुख्यगरी व्यवसायीहरु कसैलई काख र कसैलाई पाखा गर्ने प्रविृत्तिको अन्त्य गर्ने, संस्था र व्यवसायी बीचको दूरी कम गरी सबैको साझा संस्था बनाउने, कर्णालीमा उद्योग, व्यवसायीसँग सम्बन्धित सबै अधुरा काम पूरा गर्न पहल गर्ने नै हुन्।

तपाई र तपाईको समूहले जित्ने आधार के–के हुन्?
पहिलो कुरा त हाम्रो समूह व्यवसायीहरुको मुद्दामा लडिरहेका छौं। समूह कुनै एक दलको नभएर समूहभित्र संयुक्त राजनीतिक दलनिकट व्यवसायीहरु सहभागी हुनुहुन्छ। यो समूह कुरा गर्ने भन्दा पनि काम गर्ने पहिचान भएकाले जीत सुनिश्चित छ।

अहिले सुर्खेतका केही व्यवसायीहरु उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान गर्नबाट बञ्चित भएका छन्, यस्तो अवस्था किन आयो? तपाई नेतृत्वको कार्यसमितिले यस्ता समस्या समाधानका लागि कस्ता पहल गर्छ?
व्यवसाय क्षेत्रमा परेको कोभिडको प्रभाव नै यसको मुख्य समस्या हो। यसले गर्दा व्यवसायीहरु संस्थामा नविकरण हुन पाएनन्। हामीले कोभिड वा अन्य कारणले नविकरण गर्न छुट्नुभएका व्यवसायीहरुलाई संघमा आबद्ध गराउने पर्यत्न ग¥यौं। तर अहिलेको परिस्थितमा सफल भएनौं।
अहिले व्यवसायीलाई बाहिरिनुपर्ने जुन बाध्यात्मक परिस्थिति सिर्जना भएको छ, हामी निर्वाचित भईसकेपछि कुनै न कुनै माध्यमबाट उहाँहरुलाई समावेश गरी संघलाई बलियो बनाउँछौं।

अहिले व्यवसामा लगाईएका विभिन्न खालका करहरु छन्। ती करका कारण व्यवसायीहरु नै पीडित बनेका छन्। यसको व्यवस्थापन कसरी गर्नुहुछ?
कतिपय ठाउँमा त वडाका करहरु पनि फरकफरक छन्। यो स्थानीय कर प्रणालीले व्यवसायीहरु दाहोरो मारमा पर्नुभएको छ। यसमा हामीले सबै तहका सरकारसँग समन्वय गरेर करको विषयम सहजीकरण गर्नेछौं। यसमा हाम्रो प्रयास सफल हुनेछ भन्ने अपेक्षा छ।

संघीताअनुसार अन्य केही निकाय अघि बढेपनि सुर्खेत उद्योग वाणिज्य संघले आफ्नो क्षेत्र फराकिलो बनाउन सकेको छैन, तपाईको कार्यकालमा हुन्छ?
हामीले यसअघि पनि प्रत्येक पालिकामा सुर्खेत उद्योग वाणिज्य संघको शाखा विस्तार गर्ने भनेका छौं। यसको लागि विधानमा समेत व्यवस्था गरिएको छ। हामी निर्वाचित भईसकेपछि सबै पालिकामा विधानअनुसार नै सुर्खेत उद्योग वाणिज्य संघको शाखा विस्तार गर्नेछौं। त्यहाँ भएका व्यवसायीहरुलाइ संघमा आबद्ध गराई एउटा मजबुत संस्थाको रुपमा गाडि ढाउने छौं। हामी निर्वाचित हुनेवित्तिकै यो प्रक्रिया कार्यान्वयनको चरणमा जान्छ।