शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेशको बजेट खर्च २२ प्रतिशत

यस्ता छन् प्रदेश सरकारले पछिल्लो ६ महिनामा गरेका काम

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ८, २०७९


सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष झण्डै २२ प्रतिशत बजेट खर्च गरेको छ। आर्थिक बर्ष ०७८/७९ को कुल बजेटमध्ये चैत मसान्तसम्म २१.८० प्रतिशत बजेट खर्च गरिएको प्रदेश सरकारले जनाएको छ। जसमध्ये पुँजीगत १७.९४ प्रतिशत खर्च भएको छ भने चालु खर्च २७.७० प्रतिशत भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधवार नियमित पत्रकार सम्मेलन गर्दै चालु आर्थिक बर्षको बजेट लक्ष्यअनुसार लगभग खर्च हुने अवस्था देखिएको बताए। उनका अनुसार यो आर्थिक बर्ष प्रदेश सरकारले राजस्व संकलन लक्ष्य अनुसार ६०.७३ प्रतिशत संकलन भएको छ। हालसम्म ३६ करोड ४४ लाख रुपैयाँ प्रदेशको राजस्व संकलन भएको उनले बताए।
नियमित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा गरिएका मुख्य कामहरुबारे जानकारी गराएका छन्।
उर्जा, भौतिक पूर्वाधार, कृषि, कानुन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा प्रदेश सरकारले पछिल्लो ६ महिनामा गरेका कामहरुका बारेमा उनले जानकारी गराए।
मुख्यमन्त्री शाहीका अनुसार उर्जातर्फ पछिल्लो ६ महिनाको अवधिमा मुख्यगरी चारवटा काम भएका छन्।
प्रदेशमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखमा उत्पादन गर्न लागिएको विद्युतमा प्रदेश सरकारले शेयर हाल्ने भएको छ। दैलेखको नौमुलेमा बन्दै गरेको विद्युत राष्ट्रिय प्रसारण लाईनमा जडान गरिसकेपछि प्रदेश सरकारले बढीमा ५ करोड रुपैयाँ शेयरको रुपमा लगानी गर्ने सुनिश्चित गरिएको छ।
जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले ११ लाख ७१ हजार ५०० कित्ता शेयर प्रदेश सरकारले स्वीकार गरी सुनिश्चित गरेको छ।
प्रदेशका दशवटै जिल्लाका ८० देखि १०० घरधुरीलाई विद्युतीय उर्जाको महुँच पुर्याउन वस्ती उज्यालो कार्यक्रम कार्यान्वयन भईरहेको छ भने प्रदेश विद्युत विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ।
यो अवधिमा भौतिक पूर्वाधार विकासतर्फ कर्णाली प्रदेश सरकारको एकीकत भवन निर्माणको लागि जग्गा प्राप्तीको काम अन्तिम चरणमा पु¥याईएको छ। यो आर्थिक बर्षभित्रै भवन निर्माणको काम सुरु हुनेछ।
यो अवधिमा १७० किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ भने ३० किलोमिटर सडक स्तरोन्नति गरिएको छ। यस्तै ११.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
पछिल्लो ६ महिनाको अवधिमा ७ वटा सडक पुल निर्माणका कार्य सम्पन्न भएको मुख्यमन्त्री शाहीले बताए। जनता आवास कार्यक्रमअन्तर्गत ६१३ आवास निर्माण, ९७० इकाई निर्माणका लागि सम्झौता भएर कार्यान्वयनमा लगिएको छ।
यस्तै जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रममार्फत थप ४ सय विपन्न परिवारर्ला आवास निर्माण गरिदिनेगरी प्रदेश सरकारले छनोट गरेको छ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालहरुमा परिचालन, रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल भवन निर्माणमा तिव्रता, प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य इकाई पुर्नस्थापनालाई यो अवधिमा प्रदेश सरकारले गरेको प्रगतिका रुपमा मुख्यमन्त्री प्रस्तुत गरे।
शिक्षातर्फ एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, विद्यालय तह स्वास्थ्यकर्मी परिचालन कार्यविधि, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०७८ स्वीकृत, प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रंगशालाको ट्र्याक र फिल्डको काम सुरुवात, दशवटा जिल्लामा ८१ खेलमैदान निर्माण सुरु, ७९ वटै पालिकाहरुमा विद्यालय भवन निर्माण सुरुवात जस्ता कार्य गरिएको उनले बताए।
यस्तै चालू आर्थिक वर्षमा कर्णालीका १ हजार २३९ हेक्टर जमिनमा सिंचाई सुविधा प्राप्त, दुईवटा बाख्रा स्रोत केन्द्र, दुईवटा माछा स्रोत केन्द्र, १ चौरी स्रोत केन्द्र, १/१ वटा भेडा/च्याङग्रा/भैसी/कुखुरा स्रोत केन्द्र स्थापना, चक्लाबन्दी कार्यक्रममार्फत १ हजार २०५ रोपनीमा आलु/बदाम/स्याउ/ओखर/किवी उत्पादन कार्यक्रम सुरु, ३१० जना ब्यवसायीहरुलाई बैकमार्फत ५७ करोड रुपैयाँ ऋण लगानी लगायतका कार्यलाई कृषितर्फ प्रदेश सरकारले गरेका कामका रुपमा मुख्यमन्त्री शाहीले प्रस्तुत गरेका छन्।
सुरक्षातर्फ सल्यान, दैलेख, जाजरकोट र सुर्खेतमा चारवटा ईलाका प्रहरी भवन निर्माण गरिएको उनले बताए।
मुख्यमन्त्री शाहीका अनुसार आगामी आर्थिक वर्षको लागि स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमध्ये वित्तीय समानीकरण अनुदानको ८० करोड बराबरको सीमा पठाइएको छ।
यो ६ महिनाको अवधिमा कर्णाली प्रदेश सरकारका तर्फबाट जडिबुटी विकास कार्यक्रमअन्तर्गत करिब ५०० हेक्टर जडीबुटी खेती सुरु, कर्णालीको पर्यटन प्रवर्द्धन लागि नेपाली, चीनीयाँ र अंग्रेजी भाषामा वेबसाइट निर्माण, कबिर ३ सय जनालाई उद्यमशीलता तालिम दिएर रोजगार बनाईएको मुख्यमन्त्री शाहीले बताए।