शुक्रबार, जेष्ठ ४, २०८१

जब बालबालिका मतदानमा सहभागी भएर कक्षागत नेतृत्व छाने … (तस्विरहरु)

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २०, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–४ मा रहेको प्रतिक्षा मन्टेश्वरी एण्ड एलिमेन्ट्री स्कुलले अध्ययनरत बालवालिकाहरुलाई मतदानमा सहभागी गराई नेतृत्व छान्ने अभ्यास गराएको छ। शुक्रबार विद्यालयको कक्षागत नेतृत्व चयनका लागि मन्टेश्वरीले निर्वाचन प्रणाली अबलम्बन गरेको हो।
स्कुल क्याप्टेन, भाईस क्याप्टेन, बाल क्लव अध्यक्ष र ईको क्लवको अध्यक्ष चयनका लागि विद्यालयमा अध्ययनरत बालवालिकाको सहभागितामा मतदान प्रक्रिया अवलम्बन गरिएको हो। निर्वाचनमा १–५ कक्षासम्मका ७२ जना बालवालिका मतदानमा सहभागी भएका थिए।
निर्वाचन प्रक्रियाअन्तर्गत स्कुल क्याप्टेन १ जनाका लागि १० जना उम्मेदवार थिए भने भाईस क्याप्टेन एक जनाका लागि ७ जना उम्मेदवार दिए।
बाल क्लव र ईको क्लव ९/९ सदस्यीय छ। अध्यक्षदेखि सदस्यसम्म निर्वाचन प्रणालिमार्फत छनोट गरिँदैछ। क्लवका पदाधिकारी तथा सदस्य गरी ९ जनाका लागि १८/१८ जना उम्मेदवार थिए।
आज भएको निर्वाचनबाट निर्वाचित हुने कक्षागत पदाधिकारीहरुको घोषणा आईतबार गरिने मन्टेश्वरीका निर्देशक प्रतिमा मल्लाह रानाले जानकारी दिईन्। उनीहरुलाई आईतबार नै जिम्मेवारी दिईने छ।
निर्वाचित पदाधिकारीहरुलाई विद्यालयका हरेक कार्यक्रमहरुमा आतिथ्यता गराई वक्तव्य राख्न दिईनेछ।
पछिल्लो समय प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत छानिने नेतृत्वको बारेमा सुरुदेखि नै जानकार गराउन विद्यालयले ४ बर्षदेखि यो अभ्यास गरिरहेको निर्देशक मल्लाहले बताईन्।
‘सानै उमेरदेखि लिडरसिपको विकाससँगै उनीहरुमा आत्मविश्वास बढाउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, अहिलेको ठूलो समस्या भनेको भित्र बहुमुखी प्रतिभा भएपनि बाहिर मासमा बोल्न नसक्ने अवस्था छ,’ उनले भनिन्, ‘यसका लागि सानैदेखि व्यक्तित्व विकास गर्नु हाम्रो उद्देश्य हो।’
बालवालिकालाई नीति नियम तथा नीति नियम बनाउने प्रक्रियाबारे जानकारी गराउनु, जिम्मेवार पदमा पुगेपछि आईपर्ने जिम्मेवारी र त्यसको बोध गर्नुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले पनि विद्यालयमा निर्वाचण प्रणाली अवलम्बन गरिएको उनले जानकारी दिईन्।
‘यिनै बालवालिाहरु पछि जिम्मेवार पदमा निर्वाचित हुन सक्छन्, त्यसैले उनीहरुमा अहिलेदेखि नै सकारात्मक सोचतर्फ लैजानुपर्छ भन्ने पनि हाम्रो उद्देश्य हो।’ उनले भनिन्।
विद्यालयमा बालवालिका सहभागी हुने भएको निर्वाचनमा मतपत्र, चुनाव चिह्न, स्वस्तिक छाप लगायतको निर्वाचनसँग सम्बन्धित सबै व्यवस्था गरिएको थियो।
निर्वाचनमा विद्यालयका शिक्षकहरुलाई मतदान अधिकृत तोकिएको थियो।