बिहीबार, कार्तिक १३, २०८२

यस्ता छन् वीरेन्द्रनगरको पहिलो कार्यपालिका वैठकका निर्णयहरु

  
कर्णाली टाइम्स बुधबार, जेष्ठ २५, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नो पहिलो निर्णय सार्वजनिक गरेको छ। सोमबार बसेको कार्यपालिकाको पहिलो वैठकले गरेका निर्णयहरु बुधवार सार्वजनिक गरिएको हो।
सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन नागरिक सहायता कक्षको व्यवस्था गर्ने, सेवाग्राही विश्रामस्थल बनाउने, गुनासो सुनुवाई संयन्त्र निर्माणसहित प्रविधिमैत्री सेवामा जोड दिनेलगायतका निर्णय पहिलो कार्यपालिका वैठकले गरेको छ।
गुरुयोजनामा समावेश भएका सार्वजनिक सडकको अधिकार क्षेत्रको लगत कट्टा गरी शहरी नापी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरिएको छ।
वैठकले तोक आदेशबाट योजना तथा बजेट वितरण गर्ने कार्य रोक्ने निर्णय गरेको छ। कार्यपालिकाबाट योजना तथा कार्यक्रम स्वीकृत गरेर बजेट खर्चमा एकद्वार प्रणाली अपनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो।
ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिएर निशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको छ।
फोहरमैला व्यवस्थापनका लागि नियमित अनुगमन गर्ने, विग्रिएका ढल तथा नालाहरुको चाँडो मर्मत गर्ने जीर्ण र खाल्डा भएका सडकहरुको मर्मत गर्ने, गौशाला निर्माणको काम अगाडि बढाउने, सार्वजनिक जग्गाको लगत लिई उचित संरक्षण गर्ने, नगरपालिकाको प्रशासनिक भवन निर्माणको कामलाई पुनः सुचारु गर्नेलगायतका निर्णय पहिलो कार्यपालिका वैठकले गरेको छ।

पिडीएफमा हेर्नुहोस् नगर कार्यापालिकाको पहिलो वैठकका निर्णयहरुः