आइतवार, बैशाख २३, २०८१

कर्णालीका मुख्यमन्त्री शाही र नेपालका लागि स्विटजरल्याण्डका राजदूत क्यापलरबीच भेटवार्ता

  
कर्णाली टाइम्स मंगलबार, असार २१, २०७९

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ वोन क्यापलरबीच भेटवार्ता भएको छ। मंगलबार बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपालमा संघीयताको कार्यान्वयनको अवस्था, सशस्त्र द्वन्द्वका पीडितहरुलाई परिररहेको मानसिक स्वास्थ्य समस्या, कर्णालीको सडक गुरुयोजनालगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
स्विटजरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा पनि छलफल भएको छ। स्विटजरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका ६ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।
भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्वपीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेकी थिईन्। उनले द्वन्द्वपीडितहरुको मानसिक स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर बन्नुपर्नेमा जोड् दिईन्।
भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको जानकारी गराए। ‘द्वन्द्वपीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ, राहत, जीवननिर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौं।’ मुख्यमन्त्री शाहीले भने।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको राजदूत क्यापलरलाई जानकारी गराएको निजी सचिवालयले जनाएको छ।