शुक्रबार, बैशाख २१, २०८१

ट्र्याक खोलेको २८ बर्षपछि स्तरोन्नति थालियो सुर्खेत पश्चिमको सडक

  
कर्णाली टाइम्स शुक्रबार, साउन ६, २०७९


सुर्खेत। सुर्खेतको पश्चिम भागमा पर्ने मुख्य सडक तीन दशकपछि स्तरोन्नति गर्न सुरु गरिएको छ। बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्डमध्ये बड्डीचौरदेखि खम्बागाडेसम्म स्तरोन्नतिको काम सुरु भएको छ।
पश्चिम सुर्खेतको यो सडकको ट्र्याक २०५१ सालमा खोलिएको थियो।
तत्काललाई बड्डीचौरदेखि खम्बागाडेसम्मको १२.६ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का भएको छ। उक्त खण्ड कालोपत्र पनि गरिनेछ। ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा एएनके जयदेवी जेभीले यसको ठेक्का पाएको छ। पूर्वाधार विकास निर्देशनालय र उक्त निर्माण कम्पनीबीच असार १४ गते सम्झौता भएको हो।
२०८१ असार २४ गतेसम्म काम सक्नेगरी दुई पक्षबीच सम्झौता भएको छ।
ठेक्का भएपछि बिहिवार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले स्तारोन्नति गर्ने कार्यको शिलान्यास गरे। उनले वर्षौंदेखि खाल्डा परेको कच्ची सडकमा यात्रा गर्नुपर्ने पश्चिम सुर्खेतवासीको समस्या समाधानतर्फ अघि बढेको बताए।
मन्त्री बुढाक्षेत्रीले पश्चिमका नागरिकहरुलाई सहज आवतजावतका लागि सडक कालोपत्रे गर्न प्रदेशबाट बजेट विनियोजन गरिएको बताए। निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न उनले आग्रह गरे।
पछिल्लो समय मदन भण्डारी राजमार्ग नाम दिईएको पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतको पूर्वी भाग काल्चेदेखि मालारानी हुँदै पश्चिम भाग बेनीघाटसम्म २३२ किलोमिटर सडक पर्छ।
अहिले ठेक्का भएको सुर्खेतको पश्चिम खण्ड मदन भण्डारी राजमार्गको मापदण्ड अनुसार स्तरोन्नति गर्न लागिएको छ।