मंगलबार, बैशाख १८, २०८१

सामाजिक सुरक्षा कोषले उद्देश्यविपरित कार्य गर्यो: ट्रेड युनियन काँग्रेस

  
कर्णाली टाइम्स शनिबार, कार्तिक १९, २०७९


सुर्खेत। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको हितमा ल्याइएको योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा सरकारी तथा वित्तिय संस्थाका कर्मचारीलाई जबर्जस्त आबद्ध गराउन खोजिएको ट्रेड युनियनले गुनासो गरेको छ।
छिट्टै कोष भर्ने तत्कालीन सरकारको योजनाले सरकारी सेवासुविधा प्राप्त गरिरहेका कर्मचारीलाई जबरजस्ती आवद्ध गराउन खोज्दा यसको मर्म विपरित भएको गुनासो युनियनले गरेको छ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष नेत्रविक्रम थापाले छरिएर रहेका अनौपचारिक क्षेत्रका श्रमिक मजदुरलाई लक्षित गरी ल्याइएको कार्यक्रममा सरकारी कार्यालय र वित्तीय संस्थाका कर्मचारीलाई जबर्जस्ती जोड्न खोज्नु उद्देश्यविपरित भएको बताए।
संगठनको कर्णाली प्रदेश समितिले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तै अनावश्यक विवाद सिर्जना गरिएका कारण कार्यक्रमले अपेक्षित र प्रभावकारी सफलता पाउन नसकेको टिप्पणी गरे।
सरकारले श्रम ऐनमाा व्यवस्था गरिएका व्यवस्था पनि कार्यान्वयन गर्न नसकेको भन्दै उपाध्यक्ष थापाले यस्तै कारणले गर्दा सामान्य श्रमिकले निर्धारित न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको बताए।
केन्द्रिय उपमहासचिव राजेश पालिखेले ऐनमा श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोकिएपनि मासिक सात–आठ हजारमा श्रमिकले काम गर्नुपरेकोले श्रम अनुसारको पारिश्रमिक नभएसम्म श्रमको सम्मान हुन नसक्ने बताए। ऐनले व्यवस्था गरेका कुरा सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्नुु दुखद पक्ष भएको बताउँदै उनले सरकारले श्रमको सम्मान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले नेपालमा अहिले रोजगारदाता र श्रमिकबीच ठूलो खाडल विद्यमान रहेको भन्दै त्यसलाई मेटाउने प्रयत्न गर्नुपर्ने बताए।
युनियनका प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका दश जिल्लाका जिल्ला अध्यक्ष र प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको कार्यक्रममा सहभागिता थियो।