शुक्रबार, बैशाख २१, २०८१

हृदयराम थानी : पश्चिम सुर्खेतको जनप्रतिनिधि बन्ने ३ दसक पुरानो सपनाको दौडमा

  
कर्णाली टाइम्स शनिबार, कार्तिक १९, २०७९
चुनावी अभियानको क्रममा सत्ता गठबन्धनका नेताहरुसँग थानी

सुर्खेत । प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ मा भएको पहिलो आमनिर्वाचनमा हृदयराम थानी नेपाली कांग्रेसको तर्फबाट सुर्खेत क्षेत्र नं. २ मा उम्मेदवार हुन चाहन्थे । उनले उतिबेलै पश्चिम सुर्खेतमा पार्टीको संगठन विस्तारका साथै जनस्तरमा राम्रो सम्बन्ध स्थापित गरेका थिए । विशेषगरी विद्यार्थी र युवा वर्गमा उनको बलियो पकड थियो । तर पार्टीले शिवराज जोशीलाई टिकट दियो । क्षेत्र नं. २ बाट जोशी र क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्का सांसद बने । २०५१, २०५६, २०६४ र २०७० को निर्वाचनमा थानीले टिकट त पाए, तर पश्चिम सुर्खेतको प्रतिनिधित्व गर्ने मौका पाएनन् । कारण– २०५१ मै सुर्खेतमा ३ वटा निर्वाचन क्षेत्र कायम भई पश्चिम सुर्खेत क्षेत्र नं. ३ बनेको थियो । यी तीनवटै निर्वाचनमा थानी सुर्खेत उपत्यकासहित उत्तर–पूर्वी क्षेत्र समेटिएको २ नम्बर क्षेत्रबाट चुनाव लडेका थिए ।

२०७४ मा सुर्खेतमा पुनः २ वटा निर्वाचन क्षेत्र कायम भएपछि थानी २०४८ कै चुनावी मैदानमा फर्किए । २०४८ मा टिकट पाउन सकेनन्, २०७४ मा टिकट पाएर पनि पराजित भए । यसपटक भने पश्चिम सुर्खेत समेत समेटिएको क्षेत्र नं. २ बाट ३ दसकअघिको सांसद बन्ने सपना पूरा गर्ने अभियानमा छन् ।

थानीको लागि पश्चिम सुर्खेत बिरानो राजनीतिक मैदान होइन । २०४३ मा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हुँदाको बखतदेखि नै उनले पश्चिममा आफ्नो राजनीतिक गतिविधि बढाएका थिए । उनले नेविसंघको सदस्यता दिएर कांग्रेस बनाएकाहरु अहिले पनि उल्लेख्य मात्रामा छन् । कुशल संगठक र तीब्र निर्णय क्षमता भएका थानीको राजनीतिक योगदानालाई पश्चिम सुर्खेतमा सम्झिने गरिन्छ ।

यसपटक थानीले सांसद बनेर विकासमा पछि परेको पश्चिम सुर्खेतलाई समृद्धिको मार्गमा डो¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । साविकको क्षेत्र नं. २ को सांसदको रुपमा सुर्खेत उपत्यकाभित्रको रिङरोड, झुप्रा बृहत खानेपानी, काँक्रेविहार पुनर्निर्माण, रातानाङला–धरमपोखरा सडकलगायत विकासका काम गरेर जनताको विश्वास जितेका उनले पश्चिम सुर्खेतमा सडक, विद्युतीकरणजस्ता पूर्वाधारलाई प्रथामिकतामा राखेका छन् ।

पश्चिम सुर्खेतका मतदातासँग थानी

२०५७ र २०६३ मा राज्य व्यवस्था समितिको सभापति र २०७३ मा गरिवी निवारण तथा सहकारीमन्त्री भएका थानीले आफूलाई स्थापित गर्ने अवसर पाएका थिए । राज्य व्यवस्था समितिको सभापति हुँदा संसदबाट अख्तियार दुरपयोग अनुसन्धान ऐन, नेपाली सेना ऐन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । छोटो समय मन्त्री हुँदा उनले सहकारी ऐन ल्याएर काम देखाए । थानी आफूले पाएको जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने र निरन्तर खटिरहने नेताको रुपमा जनस्तरमा परिचित छन् । पार्टीभित्र भने उनको पहिचान कुशल संगठक र बोली–बचन तथा विश्वासका पक्का नेताको रुपमा स्थापित छ ।

चुनाव प्रचारको क्रममा पश्चिम सुर्खेतमा एमाले उम्मेदवार अमृत बिसी

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थानीसँग यसपटक एमालेका जिल्ला अध्यक्ष अमृत बिसी प्रमुख प्रतिस्पर्धी छन् । बिसी र थानी दुबैजना सुर्खेत उपत्यकाका हुन् । बिसी पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई हेर्दा सुर्खेत क्षेत्र नं. २ मा एमाले पहिलो शक्तिको रुपमा रहेको छ । एमालेले ३० हजार ४ सय ६९ मत पाएको छ । त्यसपछि क्रमशः कांग्रेसले २९ हजार ५ सय ४०, माओवादीले ११ हजार ६ सय ६१, राप्रपाले ३ हजार ४ सय ९७ र एकीकृत समाजवादीले २ हजार ६२ मत पाएको छ । यस हिसाबले एमालेभन्दा सत्ता गबन्धनको मत १२ हजार ७ सय ९४ बढी रहेको छ । थानी गठबन्धनको यही मत र पञ्चायतकालदेखि राजनीतिक अभ्यास गरेको आधारमा पश्चिम क्षेत्रको समेत जनप्रतिनिधि हुने ३ दसकअघिको सपना पूरा गर्ने दौडमा छन् । उनको दौड गन्तव्यमा पुग्छ कि पुग्दैन, आगामी मंसिर ४ को निर्वाचनले निक्र्योल गर्नेछ ।