बिहीबार, बैशाख २०, २०८१

सुर्खेत-२ मा काँग्रेसको अग्रता कायमै, कर्णालीका बाँकी क्षेत्रमा कसको अग्रता?

तीन जिल्लामा मतगणना गर्न बाँकी

  
कर्णाली टाइम्स मंगलबार, मंसिर ६, २०७९

सुर्खेत। प्रतिनिधि सभातर्फ सुर्खेत-२ मा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। सोमबारदेखि सुरु भएका मतगणनाअनुसार गठबन्धनबाट उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीले सुरुआती अग्रता कायमै राखेका छन्।

हालसम्म ४० हजार ९५९ मत गनिसक्दा थानी प्रतिद्वन्द्वी भन्दा ३ हजार १९० मत बढी मत ल्याएर अगाडि छन्। उनले १८ हजार ७७८ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढा क्षेत्रीले १५ हजार ५८८ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर चुनाराले २ हजार ३०६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार भिमबहादुर शाहीले १ हजार ५५२ मत ल्याएका छन्।

सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा मतगणना हुन सकेको छैन। उक्त निर्वाचन क्षेत्रमा पर्ने सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलका केही मतदान केन्द्रमा विवाद भएपछि स्थगित भएको मतदान आज भईरहेकको छ। मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मंगलबार नै मतगणना सुरु गरिनेछ।

सुर्खेतबाहेक कर्णालीका अरु ६ जिल्लाका सात प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको छ। हाल मतगणना चलिरहेकामध्ये प्रतिनिधि सभातर्फ कालीकोटमा नेकपा माओवादीका महेन्द्रबहादुर शाही, जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही, जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा, सल्यानमा नेकपा (एस) का प्रकाश ज्वालाले अग्रता लिएका छन्।

दैलेखका दुईटा निर्वाचन क्षेत्रमध्ये १ मा एमाले र २ मा नेपाली काँग्रेसले अग्रता लिएका छन्।

बाँकी तीन जिल्लामा मतगणना सुरु भएको छैन।