सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रले दावी पेश गर्ने भएको छ। माओवादी संसदीय दल नेता राजकुमार शर्माले प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गर्नेछन्। माओवादी प्रदेश अध्यक्ष विमला केसीका अनुसार आज पाँच बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश हुनेछ।
प्रदेश प्रमुखको कार्यालयले पुस २१ प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि २७ गते ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेको थियो। कर्णाली प्रदेश सभामा सहभागी पाँच दलमध्ये कुनै दलको एकल बहुमत छैन।
केन्द्रको समीकरणअनुसार आज कर्णालीमा पनि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार गठन हुँदैछ।
मुख्यमन्त्रीका दावेदारको लागि प्रस्तावक, समर्थक, मन्त्रालय भागबण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुबीच छलफल भईरहेको अध्यक्ष केसीले जानकारी दिईन्।
कर्णाली प्रदेश सभामा नेपाली काँग्रेस सबैभन्दा ठूलो दलका रुपमा छ। काँग्रेसका १४ जना सांसद छन्। नेकपा माओवादी केन्द्रका १३ र एमालेका १० जना सांसद छन्। नेकपा (एकीकृत समाजवादी) र राप्रपाबाट एक÷एक जना छन्। एक जना स्वतन्त्र सांसद छन्।
कर्णाली टाइम्स
बुधबार, पुस २७, २०७९