आइतवार, बैशाख २३, २०८१

कर्णालीको तेस्रो मुख्यमन्त्री बने राजकुमार शर्मा

  
कर्णाली टाइम्स बुधबार, पुस २७, २०७९


सुर्खेत। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। नेपालको संविधानको धारा ६८ (२) बमोजिम उनी कर्णालीको मुख्यमन्त्री बनेका हुन्।
शर्मालाई बुधबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शर्माको प्रस्तावकमा नेकपा एमालेका संसदीय दल नेता यामलाल कँडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद कल्याणी खड्का छन्।
सरकारलाई समर्थन गरेका दलहरु एमाले, माओवादी, राप्रपा र समाजवादीका गरी २५ सांसदहरुले हस्ताक्षर गरेका छन्।
कर्णाली प्रदेश सभामा सहभागी पाँच दलमध्ये संविधानको धारा ६८ (१) बमोजिम एकल सरकार बनाउन कुनै पनि दलको बहुमत प्राप्त नभएकाले उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र र एमाले, समाजवादी र राप्रपाको समर्थनमा शर्मा मुख्यमन्त्री नियुक्त भएका हुन्।
उपधारा (१) अनुसार सरकार गठन गर्न संसदमा एक दलको स्पष्ट बहुमत चाहिन्छ।
यदि संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको खण्डमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनुपर्ने प्रावधान संविधानको धारा ६८ उपधारा २ मा छ।
कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र समाजवादीका एक÷एक जना गरी २५ सांसद छन्।
बाँकी १५ मध्ये कांग्रेसबाट १४, राप्रपाबाट १, नेकपा (एस) बाट १ र स्वतन्त्र एक जना छन्।
शर्मा प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुअघिको पहिलो सरकारले ४ वर्ष १० महिना कार्यकाल बिताएको छ।
पहिलो सरकारको अवधिमा दुई जना मुख्यमन्त्री बने। प्रदेश स्थापनाको सुरुआतमा २०७४ फागनु ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नियुक्त भएका थिए।
त्यसपछि २०७८ कात्तिक १६ गते नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बनेका थिए।