मंगलबार, बैशाख १८, २०८१

कर्णाली प्रदेशको मन्त्रिपरिषदले पायो पूर्णता

  
कर्णाली टाइम्स बुधबार, माघ ११, २०७९


सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषदले पूर्णता पाएको छ। बुधबार सत्ता साझेदार दलहरुबीच भएको छलफलपछि मन्त्रालयको टुंगो लगाईएको हो। छलफलबाट नेकपा माओवादी केन्द्रबाट मुखयमन्त्रीसहित चार जना र नेकपा एमालेबाट तीन जना मन्त्री बनेका छन्।
माओवादीबाट सल्यानका भिमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सुर्खेतका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री, कालीकोटका मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बनेका छन्।
नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्री र मुगुका जीतबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।
नवनियुक्त मन्त्रीहरुले बुधबार नै पद तथा गोपनीयताको शपथ पनि लिईसकेका छन्।
नेकपा एमालेबाट विनोदकुमार शाह र माओवादीबाट मंगलबहादुर शाहीलाई पुस २८ गते नै मन्त्रीमा नियुक्त गरिएको थियो। उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन। मन्त्रीको रुपमा भने शपथ गराईसकिएको थियो।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा पुस २७ गते नियुक्त भएको थिए। उनले २८ गते शपथ लिएका थिए भने माघ ६ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
कर्णाली प्रदेशमा यसअघि ८ वटा मन्त्रालय थिए। पुस २७ गते सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या घटाएर ७ बनाउने सहमति भएको थियो। सोमबारको मन्त्रिपरिषद वैठकबाट निर्णय गरी जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभेर भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय बनाईएको छ।
कर्णाली प्रदेश सभामा सहभागी पाँच दलमध्ये चार राजनीतकि दल सरकारमा सहभागी छन्। नेकपा माओवादीसहित, एमाले, राप्रपा र नेकपा (एस) सरकारमा छन्। मुख्यमन्त्रीले विश्वासको मत लिएयता प्रदेश सभाका एक जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन जनाएका छन्।