मंगलबार, बैशाख १८, २०८१

यी हुन् ‘क्यान’को बोर्ड वैठकबाट गरिएका निर्णय, अबको वार्षिक साधारण सभा सुर्खेतमा हुने

  
कर्णाली टाइम्स बुधबार, माघ १८, २०७९


सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार राति सम्पन्न बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको छ। सात जना केन्द्रीय सदस्यको बहिष्कारको बावजुद बसेको बैठकले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि विशेष साधारणसभासम्मको निर्णय गरेको छ।
बैठकले आगामी जेठसम्ममा क्यानको निर्वाचन गराउने निर्णय गरेको हो। अहिलेको केन्द्रीय समितिको कार्यकाल सकिनु चार महिना अघि निर्वाचन गराउने क्यानले निर्णय गरेको हो। अहिलेको कार्यसमितिको कार्यकाल आगामी असोजसम्म छ।
यस्तै नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने, फागुन १४ र १५ गते संघको बार्षिक साधारण सभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्ने, सन् २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीहरुलाई केन्द्रीय करारमा राख्ने निर्णय बोर्ड वैठकले गरेको छ।
पुरुष खेलाडीहरुमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन्।
महिलातर्फ रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, विन्दु रावल, संगिता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन्।
यस्तै बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने, यसको अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने, गभर्निङ काउन्सिल विघटन गर्ने, सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौता खारेज गर्न आगामी साधारण सभाबाट निर्णय गर्न पेस गर्ने, स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरुको आरोप पुष्टि पश्चात् आइसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबाही अगाडि बढाउने निर्णय पनि गरिएको छ।
नेपाल क्रिकेट संघले कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जिम्मेवारी छोडेको विषय अनुमोदन गर्ने, उनको ठाउँमा दुर्गाराज पाठकलाई जिम्मा दिने, संघको विशेष साधारण सभा आगामी २०८० जेठ मसान्तभित्र आयोजना गर्नेगरी जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गर्ने निर्णय पनि गरिएको छ।