सोमवार, जेष्ठ ६, २०८२

कर्णालीमा माओवादी नेतृत्वकै सरकार निरन्तर हुन्छः शर्मा

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र २४, २०७९


सुर्खेत। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेशमा माओवादी नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्। पार्टी सुदृढिकरण अभियानका लागि सुर्खेत आईपुगेका उपमहासचिव शर्माले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सत्ता साझेदार दलहरु एक ठाउँमा आएर माओवादी नेतृत्वको सरकारलाई निरन्तरता दिने बताए।
‘कर्णालीको अहिलेकै नेतृत्वको सरकार कायम रहन्छ, यसै सरकारले यहाँको गरिबी अन्त्य गर्नेगरि काम गर्छ,’ उनले भने, ‘यो प्रदेशमा पनि कांग्रेससहितका सत्ता साझेदार दलहरुबीच नै सहकार्य हुन्छ।’
कर्णाली प्रदेश सरकारमा सहभागी एमालेको विषयमा के गर्ने भन्ने विषयमा भने केन्द्रमा गठबन्धनले छिट्टै निर्णय गर्ने उनले बताए।
त्यहीक्रममा शर्माले अब केन्द्र सरकारको कामले पनि गति लिने बताए। केन्द्र सरकारका १०० दिन गठबन्धन फेरबदलमै वितेपनि अब भने कामले गति लिने बताए।
‘विभिन्न विषयमा गरिएका सहमतिको कार्यान्वयन र सरकार विस्तार गर्ने क्रममा संघीय सरकारका १०० दिन वितेका छन्,’ उनले भने, ‘अब सरकारको न्युनतम साझा कार्यक्रम पनि आईसकेको छ, कामले गति लिन्छ।’
उपमहासचिव शर्माले केन्द्रमा कांग्रेसले मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको बताए।