बुधबार, बैशाख १९, २०८१

‘शून्यको मूल्य’ का लेखक केसीलाई उत्तमशान्ति पुरस्कार

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ १२, २०८०


सुर्खेत। नवराज केसीले उत्तमशान्ति पुरस्कार पाउने भएका छन्। गैरआख्यान कृति ‘शून्यको मूल्य’ का लेखक डा. केसीलाई कुँवर स्मारक पुरस्कार गुठीले यो बर्षको उत्तम शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
२०४४ सालमा स्थापना भएको उक्त पुरस्कार यो बर्ष कर्णालीका आमाहरुका संघर्षपूर्ण कथा शून्यको मूल्य पुस्तकमार्फत उजागर गरेवापत लेखक डा. केसीलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो।
पुरस्कारमा ताम्रपत्र र एक लाख बराबर राशि रहेको छ। शून्यको मूल्य पुस्तक २०७९ मा प्रकाशित भएको हो।
‘शून्यको मूल्य’ नामक कृतिबाट अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरुको दुख, पीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेवापत साहित्यकार डा. नवराज केसीलाई यस गुठीले ताम्रपत्र र नगदसहितको उत्तमशान्ति पुरस्कार समर्पण गर्ने निर्णय भएको छ।’ गुठीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
गुठीले २०४४ सालदेखि निबन्ध, यात्रा संस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्ता लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरुलाई बार्षिक रुपमा उत्तमशान्ति पुरस्कारद्वारा सम्मान गर्दै आएको छ।