शुक्रबार, बैशाख २१, २०८१

सांसद सेजुवालले संसदमा उठाइन् ३ गंभीर सवाल

  
कर्णाली टाइम्स बिहीबार, भदौ ७, २०८०
काठमाडौं । सांसद कान्तिका सेजुवालले ३ वटा गंभीर सवालबारे संसदमा सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बाल सुधारगृहको सुरक्षा, भारतको उत्तराखण्डमा पहिरोमा परी मृत्यु भएका नेपालीका परिवारलाई राहत तथा क्षतिपूर्ति र जुम्लासहित नेपालका विभिन्न ठाउँमा गएको बाढीपहिरोको क्षति तथा पीडितलाई राहतबारे प्रश्न उठाएकी हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद सेजुवालले साउन ४ गते भक्तपुरको बाल सुधारगृहमा भएको घटनाले समग्र देशकै शान्ति सुरक्षामा गंभीर प्रश्न उब्जिएको बताइन् ।‘भक्तपुरको सानोठिमीमा रहेको बाल सुधारगृहमा साउन ४ गते एकजना बालक कमल बस्नेतको मृत्युको प्रकरणमा बालबन्दीहरु सुधारगृहबाटै निस्केर झडप, तोडफोडको अवस्था आयो,’ उनले भनिन्, ‘बालबन्दीहरु बस्ने बालगृह जस्तो संवेदनशील ठाउँमा पनि सुरक्षा छैन भने आम नेपाली जनता र महिलाहरुले कसरी सुरक्षाको प्रत्याभूति गर्ने ?’ बाल सुधारगृहमै बालकको बाँच्न पाउने हक हनन् भएको घटनाबारे उनले सरकारको ध्यानाकर्षण गराइन् ।
त्यसैगरी सांसद सेजुवालले भारतको उत्तराखण्डको गौरीकुण्डमा साउन १८ गते भएको पहिरोमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र क्षतिपूर्ति दिन नेपाल सरकारको ध्यानाकर्षण गराइन् । उक्त घटनामा १६ जना नेपाली पहिरोमा परेकामा ३ जनाका शव भेटिएको छ भने अन्यको अवस्था अझै अज्ञात रहेको छ । जुम्ला पातारासीको १३ जनाको अवस्था अज्ञात रहेको भन्दै उनीहरुको खोजीको लागि भारत सरकारसँग पहल गर्नुपर्ने उनले माग गरिन् । सांसद सेजुवालका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा शुक रावत, बमबहादुर रावत, अम्मर बोहोरा, अनिता बोहोरा, पृथ्वी बोहोरा (क), पृथ्वी बोहोरा (ख), जटिल बोहोरा, वकिल बोहोरा, राधिका बोहोरा, पिंकी बोहोरा, धर्मराज बुढा, लालबहादुर कामी र चन्द्र कामी रहेका छन् । साउन ४ गते राति जुम्लाको पातारासी गाउँपालिकाको वडा नं. ५ मा पहिरोले एक जना महिलाको मृत्यु हुनुका साथै २ हजार ६ सय ५५ नागरिकको जनजीवन प्रभावित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गराइन् । त्यसैगरी २०४५ सालमा समाजशास्त्री डोरबहादुर बिष्टले सुरु गरेको लघु जलविद्युत अवरुद्ध भएको उनले जानकारी गराइन् ।
उनले बाढीपहिरोले पु¥याएको क्षति, उद्दार र राहत तथा को व्यवस्थापनको अवस्थाबारे जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइन् । ‘बिपत हुनुभन्दा पहिलेको प्रतिकार्य योजना, विपत भएपछि के कसरी काम गरियो र उद्धार गरियो अनि त्यसपछि कतिलाई व्यवस्थापन गरियो भन्नेबारे तीनवटै चरणको कामबारे गृहमन्त्रीले संसदलाई जानकारी दिनुपथ्र्यो,’ उनले भनिन्, ‘म सभामुखमार्फत गृहमन्त्री र सरकारको ध्यानाकर्षण गराउँदछु ।’