शनिबार, कार्तिक १०, २०८१

जहाज कुर्दाकुर्दै नाबालकको मृत्यु भएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकविरूद्ध उच्चमा रिट

  
कर्णाली टाइम्स आइतवार, भदौ १७, २०८०

सुर्खेत ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्णयको कारण हवाई उडान नहुँदा हुम्लामा मृत्यु भएका नाबालकका परिवारलाई क्षतिपूर्ति र नागरिक उड्ययन प्राधिकरणक महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारबाहीको आदेश माग गर्दै उच्च अदालत पाटनम रिट दर्ता भएको छ। अधिवक्ता गणेशबहादुर ओलीले आइतबार प्राधीकरणका महानिर्देशक अधिकारी समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहित पाँ बुँदे निर्णय गरेको थियो। अधिवक्ता ओलीले हचुवाको भरमा गरिएको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका-६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन् ।

‘उडान अनुमति नदिनेगरी गरेको निर्णयका कारण मिति २०८० साउन २६ गते हुम्ला जिल्ला सिमकोट गाउँपालिका ६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनारको थप उपचारको लागि अस्पतालबाट रिफर गरेको र प्राधिकरणको निर्णय कार्यान्वयनको क्रममा हवाई सेवा प्रदायकले उडान नगर्दा मुत्यु भएको थियो,’ रिटमा भनिएको छ, ‘सो घटनाको कारण व्यापक जनदवाव र राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएपश्चात निर्णयबाट पछि हटेको थियो।’साउन ३२ गते ४ बुँदे निर्णय गरे पनि आफ्नो गल्ती ढाकछोप गरी आफू जिम्मेवारीबाट पन्छिन उक्त निर्णय गरिएको रिटमा उल्लेख छ ।

अधिवक्ता ओलीले मृतक बालकको अस्पताल भर्ना भएको, रिफर गरिएको र सुविधा सम्पन्न अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको कागजपत्र पनि पेश गरेका छन् ।
रिटमा विपक्षीहरुले यस्तो निर्णय गर्नुको कारणसहित जवाफ माग गरिएको छ। निर्णयकर्ता निकायलाई कारबाही गर्न उपयुक्त आदेशसहितको परमादेश जारी गर्न माग गरिएको छ।

‘यसका साथै अकालमा ज्यान गुमाएका नाबालका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नु/गराउनु भनी परमादेश जारी गरिपाउँ,’ रिटमा भनिएको छ ।

रिटमा महानिर्देशक अधिकारीका साथै नेपाल नागरिक उड्ययन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पनि विपक्षी बनाईएको छ।
उच्च अदालतले उक्त रिटको प्रारिम्भक पेशी मंगलबार तोकेको छ।