सुर्खेत। नेपाल सरकारका कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सफल भएको बताएका छन्। बुधबार सुर्खेत पुगेका खड्काले पत्रकारहरुसँग कुरा गर्दै चीन भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल तथा सम्झौता भएकोले नेपालका लागि उपलब्धीमुलक रहेका बताए।
भ्रमणका क्रममा दुई देशबीच भएको महत्वपूर्ण सम्झौताले देशको विकास निर्माणको गतिलाई तिब्रता दिने विश्वास गरिएको उनले बताए। उनले कर्णाली करिडोर चीन सरकारले बनाउनेगरि भएको सहमति कर्णाली प्रदेशका लागि महत्वपूर्ण भएको बताए।
कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकमा सुशासन कायम तथा विकास निर्माणका कामहरु अगाडि बढाउन सरकार तिब्र गतिमा लागीरहेको बताए। आम नागरिकको दैनिक जिवनसँग जोडिएका सेवा प्रवाहलाई छरितो बनाउने बाटोमा सरकार लागेको उनले बताए। विकासका काममा हुने ढिलासुस्ती अन्त्य गर्ने विषयमा पछि हाम्रो प्रयास जारी रहेको खड्काले बताए।
सरकारले अब तत्कालै सुशासनसँग जोडिएको प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा गरिरहेको उनले जानकारी दिए।
खड्काले कर्णालीका सडक तथा राजमार्गहरुमा भएका ठेक्का प्रक्रिया तिब्र रुपमा अघि बढिरहेको बताउँदै सबै तहसँग समन्वय गरेर विकासका कामलाई तिब्र गतिमा अगाडि बढाईने उनले बताए। अहिलेको अर्थतन्त्रमा परेको प्रभावका कारण बजेटमा सिमितता भएकाले निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार विकास निर्माणका काममा लगानी गर्न नसकिएको उनले बताए। भएको बजेटलाई भने प्राथमिकीकरण गरेर विनियोजन गरिएको उनको भनाई छ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संघीयताले परिकल्पना गरेका व्यवस्था कार्यान्वयनमा आएका जटिलता फुकाउन संघीय सरकारले मुल ऐनहरुलाई अन्तिम रुपम दिन थालेको बताए।
कर्णाली टाइम्स
बुधबार, असोज १०, २०८०