सुर्खेत । कर्णालीको प्रदेश अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफले मुटुरोग विभाग स्थापनार्थ १ करोड मूल्यमा उपकरण सहयोग गरेको छ । संस्थाले आइतबार हृदयरोग निदान, उपचार तथा व्यवस्थापनका लागि अत्यावश्यक मानिने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटरजस्ता उपकरण हस्तान्तरण गरेको हो ।
प्रदेश अस्पतालका निर्देशक प्रा. डा. डम्बर खड्कालाई ब्याक टु लाइफ इभी जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले उपकरण हस्तान्तरण गरेका हुन् । ब्याक टु लाइफले कर्णाली प्रदेशको मुगु र विकासका दृष्टिकोणले पछि परेका अन्य जिल्लाहरुमा सन् २००९ देखि स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । ब्याक टु लाइफका कार्यक्रम निर्देशक ढकालले प्रदेश अस्पताललाई हृदयरोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम, ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरु हस्तान्तरण गरिएको बताए । प्रशासनिक निर्देशक पौडेलले संस्थाले यस अघि पनि कोभिड–१९ को उपचारको लागि आवश्यक पर्ने उपकरणहरु प्रदेश अस्पताल सुर्खेतलाई सहयोग गरेको जानकारी गराए ।
प्रदेश अस्पतालले केही समय अघिबाट मात्र मुटुरोगसम्बन्धी विशेषज्ञ डाक्टरबाट कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको थियो । ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले प्रदेश अस्पतालमा भर्खरै स्थापना भएको हृदयरोग विभागको दीगोपनाको लागि प्रदेश अस्पतालका ३ जना कर्मचारीलाई हालै प्रदान गरिएका उपकरणहरु सञ्चालनसम्बन्धी तालिम प्रदान गर्न संस्थाले शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँसँग संयोजन र सहयोग गरेको बताए । प्रदेश अस्पतालका निर्देशक प्रा. डा. खड्काले ब्याक टु लाइफबाट सहयोग प्राप्त उपकरणहरुले मुटुरोगसम्बन्धी समस्या भएका विरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने बताए ।