सुर्खेत। दुई जना युवाहरुको मृत्यु भएको शुक्रबारको बालकुमारी घटनाको बारेमा सुर्खेतमा विरोध प्रदर्शन जारी छ। शनिबारदेखि सुरु भएको विरोध प्रदर्शन आइतबार पनि जारी रहने आन्दोलन संघर्ष समितिले जनाएको छ।
शनिबार विज्ञप्ती जारी गर्दै समितिले घटनामा मृतकका परिवारको न्याय र वर्तमान सरकारको राजीनामाका लागि चरणबद्ध आन्दोलन घोषा गरिएको जनाएको छ।
मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्तिसहितको न्याय दिनुपर्ने, परिवारलाई पालनपोषण तथा रोजगारीको ग्यारेण्टी गर्नुपर्ने, वर्तमान सरकारले राजीनामा दिनुपर्ने माग गर्दै सुर्खेतमा प्रदर्शन सुरु गरिएको हो।
प्रदर्शनकै क्रममा आइतबार संघर्ष समितिले सवारी साधान बन्दको आह्वान गरेको छ। समितिले आज दिनभर जिल्लामा सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्न आह्वान गरेको छ। यस्तै दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा सम्पूर्ण सवारी साधन बन्द गर्न पनि संघर्ष समितिले आह्वान गरेको छ।
शनिबार वीरेन्द्रनगर बजारमा उनीहरुले नाराबाजी र टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
कोरियन भाषा परीक्षाको विषयमा प्रदर्शनका क्रममा शुक्रबार प्रदर्शनकारीहरुले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए। त्यसपछि प्रहरीले अश्रुग्यास, लाठीचार्ज र गोली चलाउँदा बालकुमारी तनावग्रस्त बनेको थियो।
घटनामा दैलेखका २२ बर्षीय सुजन राउत र अछामका २३ बर्षीय विनोद शाहको मृत्यु भएको थियो।
कर्णाली टाइम्स
आइतवार, पुस १५, २०८०