मंगलबार, बैशाख १८, २०८१

कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ४, २०८०


सुर्खेत। शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरु हुँदैछ। हरेक बर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो बर्ष पाँचौ संस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ।
विचार र बहसको उत्सवको रुपमा लिईने कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ। उत्सवमा विगत बर्षहरुजस्तै यो बर्ष पनि विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का कथा, सांगितिक साँझ, साहित्य साँझ प्रस्तुत गरिनेछ।
यो बर्षको उत्सवका विपदको सवाललाई बढी प्राथमिकता दिईएको छ।
शनिबार पहिलो दिन १० बजे उत्सवको उद्घाटन गरिने छ। उद्घाटन सत्रमा कर्णाली उत्सवको यात्राको बारेमा, उत्सव वा बहसमा भएको लगानीका बारेमा, कर्णाली बाहिरका सरोकारवालाको कर्णालीप्रतिको प्रेम, नीतिसम्बन्धि बहसको महत्व लगायतका विषयमा मन्तव्य रहनेछन्।
उद्घाटन सत्रकै क्रममा ‘प्रसुति र पितृसत्ता’ विषयमा विद्वत प्रवचन रहनेछ। उक्त प्रवचन नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले गर्नेछन्। सिम्ता गाउँपालिकाको सिङ्गारु नाँच पनि उद्घाटन सत्रमा रहने छ।
यो वर्षको उत्सवअन्तर्गत पहिलो दिन ‘प्रकोप र पुनर्निमाण’, दोस्रो दिन ‘समाज, साहित्य र विकास’, तेस्रो दिन ‘लोकतन्त्र र सुशासन’ विषयमा केन्द्रित रही त्यसभित्रका विभिन्न उपशिर्षकमा बहस गरिने ऋति फाउण्डेशनका अध्यक्ष तथा उत्सव आयोजक समितिका संयोजक कमलराज लम्सालले जानकारी दिए।
पहिलो दिन तीनवटा विषयमा विपद केन्द्रित बहस हुनेछ। भूकम्प प्रभावित क्षेत्रका पालिका प्रमुख, भूकम्पविद् तथा सामाजिक क्षेत्रमा कार्यरत वक्ताको उपस्थितिमा ‘इपिसेन्टर’ भन्ने विषयमा उत्सवको पहिलो बहस हुनेछ।
त्यसपछि जीवन प्रशिक्षक जाजरकोटका नरबहादुर कार्कीको ‘पैकेलो’ प्रस्तुत गरिनेछ।
त्यसपछि ‘संकट र सेवा’ भन्ने विषयमा बहस हुनेछ। पहिलो दीनको तेस्रो बहस सत्र ‘जोखिम र जुझ्न्या जुक्ति’ भन्ने विषयमा रहनेछ। पहिलो दिनको अन्तिम सत्र सांगितिक साँझ हुनेछ। यसमा कलाकारहरु टिका पुन, यज्ञराज उपाध्याय, डिक्रा वादी सहभागी हुनेछन्। आनी छोइङ डोल्मा पनि सांगितिक साँझमा सहभागी हुनेछिन्।
यस्तै दोस्रो दिन फागुन ६ गते ‘कर्णालीः धरोहर–मनोहर’ विषयमा विद्वत प्रवचन रहनेछ। उक्त प्रवचन इतिहासकार प्रा. डा. राजाराम सुवेदीले गर्नेछन्।
त्यसपछि ‘लगानीको लगन’, ‘कर्णाली दृष्टि’, ‘कर्णाली क्याराभान’ विषयमा बहस गरिनेछ। क्याराभान चलचित्रका निर्देशक एरिक भाली पनि बहसमा सहभागी हुनेछन्।
त्यसपछि युवा वैज्ञानिक राजेन्द्र विष्टको ‘पैकेलो’ प्रस्तुत गरिनेछ।
पैकेलोपछि ‘अपाङ्गताः पहुँच र पौरख’, ‘हाम्मो कर्णाली, हाम्मै कर्णाली’, ‘अन्तरजातीय विवाहः रहर र कहर’ भन्ने विषयमा बहस गरिनेछ।
दोस्रो दिनको अन्तिम सत्र देउडा खेल हुनेछ। यसमा यशोधा देवकोटा, प्रेमप्रसाद अधिकारी, संगीता बडुवाल सहभागी हुनेछन्।
तेस्रो दिन फागुन ७ गते समाजसेवी म्यागी डोयनले विद्वत प्रवचनका रुपमा आफ्नो अनुभव सुनाउनेछिन्। उनले ‘अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली’ विषय केन्द्रित आफ्नो प्रवचन राख्नेछिन्। त्यसपछि ‘लोकतन्त्रः दलभित्र, देशभित्र’ भन्ने विषयमा बहस गरिनेछ।
त्यसपछि सामाजिक अभियानता तथा बादी सरोकार मञ्चका अध्यक्ष हिक्मत वादीले ‘पैकेलो’ सुनाउनेछन्।
तेस्रो दिनको अर्को बहस ‘देशऽ जान्या’, ‘समाज र संघर्ष’, ‘खस कुडा–खास कुडाः सौंराई जिन्नगीको’ भन्ने विषयमा हुनेछ। उत्सवको अन्तिम बहस ‘विकास अन्र्या! विकास खान्या!’ भन्ने विषयमा हुनेछ। त्यसपछि समापन समारोह हुनेछ भने अन्तिममा गजल महाफिल हुनेछ।
तीन दिनसम्म चल्ने कर्णाली उत्सव (कुडा कर्णालीका) को सेतोपाटी र सीआईएनबाट प्रत्यक्ष प्रसारण हुनेछ।