मंगलबार, बैशाख १८, २०८१

क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

  
कर्णाली टाइम्स आइतवार, फागुन ६, २०८०


सुर्खेत। ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’
तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताको रुपमा बोल्दै भालीले नेपालको विविदता र बहुआयामिकता अथाह भएको बताए। भाली तीनै व्यक्ति हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमा क्याराभान सूचीकृत भएको थियो।
यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ। फिल्मले जोडेको साइनोका कारण भाली कर्णाली उत्सवमा उपस्थित भएका थिए। डोल्पामा बसेर क्याराभान निर्माण गरेका भालीको नेपाल र कर्णाली यात्रा भने रोचक छ।
भाली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका थिए। त्यहाँ घुम्दाघुम्दै उनको भिजा अवधि सकिएछ। एकदिन अफगानी सेनाले पक्राउ गरेर उनलाई जेल हाल्यो। ‘अफगान आर्मीले मलाई दुइटा अप्सन दियो- घर जान्छस कि अन्य छिमेकी मुलुकमा? तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए,’ भालीले भने,‘भारतमा तिम्रो देशका बारेमा धेरै कुरा सुने, नेपाल आएँ त्यसपछि त तिमीहरुको देशमा माया बस्यो।’
भालीका अनुसार त्यतिबेलासम्म नेपालमा विदेशीले देख्ने भनेको पर्यटन मात्र थियो। भालीले सक्कली नेपाल देखे। कुनैपनि विदेशी नपुगेको नेपालका ठाउँमा उनी पुगे। घुम्दाघुम्दै उनी कर्णालीको डोल्पा पुगे। सुरुआती चरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउने इच्छा जाग्यो। डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो।
‘उनको लुगा,चौरीको दुघ, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो, तिनै मान्छेहरुको जनजीवनलाई क्यामरामा कैद गर्दा क्याराभान बनेको हो,’ भ्याली भन्छन्।
एउटा सशक्त फिल्म बनाउन के गर्नुपर्ने रहेछ? उत्सवमा भ्यालीलाई प्रश्न गर्ने भूमिकामा रहेका काठमाण्डौं विश्वविद्यालय सह–प्रध्यापक डा. लोचन रिजालको प्रश्नमा भालीले जवाफ दिँदै भने, ‘फिल्म राम्रो हुनलाई शक्तिशाली कथा हुनुपर्छ, शक्तिशाली कथा भेटाउन गाउँ डुल्नुपर्छ।’
क्याराभान फिल्मको स्क्रिप्टका लागि आफूले तीन वर्ष पढेको उनले बताए ।
सन् १९५२ मा फ्रान्समा जन्मिएका भालीले नेपालमा मात्रै ३० वर्ष बिताएका छन्। चलचित्रमार्फत नेपालको संस्कृतिक सम्पदालाई संसारभर चिनाएका भालीको नेपाल प्रेम अनौठौं छ। ‘म विदेशी नजाने बाटो हिँड्छु, त्यसले मलाई नयाँपन दिन्छ,’ उनी भन्छन्, ‘दुर्गम क्षेत्रमा पुग्छु, बाटो बिराउँछु, कहिल्यै भोकै सुत्छु, फेरि गन्तव्य त भेटाइनै हाल्छु।’
हाल सुदूरपश्चिमको बझाङ्ग र बाजुरमा पुगेर त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भालीले बताए। उनले बाजुरा पनि अनौठो पाएका छन्।