सोमवार, जेष्ठ ६, २०८२

जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुनुपर्छः खड्का

  
कर्णाली टाइम्स शनिबार, चैत्र २४, २०८०


सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्वबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन्। जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको बताउँदै खड्काले विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित बैठक बस्नुपर्ने बताए।
नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधि र पार्टीको सम्बन्ध’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले भ निर्वाचित भइसकेपछि पार्टी र कार्यकर्तालाई भुल्ने परिपाटीको अन्त्य गर्नुपर्ने औंल्याए।
पार्टीको विधानले व्यवस्था गरेअनुसार नियमित बैठकहरु बसेर जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको उनले बताए। ‘निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व हुन्छ,’ उनले भने, ‘यसले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण काम गर्छ।’
निर्वाचनका बेला कांग्रेसको चुनाव चिह्न बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरु पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्वता खड्काले जनाए। ‘स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा मतदातासँग मत माग्न जाँदा हामीले जे–जे कुराहरु बोलेका थियौं, ती सबै कुरा पाँच वर्षभित्र पूरा गरेर छोड्छौं,’ उनले भने, ‘निर्वाचनका बेला गरिएका बाचा अनुसार भइरहेका कामहरुका बारेमा पार्टी नेता तथा कार्यकर्ताहरुले जनताको बीचमा जानकारी गराउन आवश्यक छ।’
उपसभापति खड्काले हालै सम्पन्न पार्टीको महासमिति बैठकले दिएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्ने बताए।