आइतवार, बैशाख २३, २०८१

कर्णालीका मुख्यमन्त्रीले कँडेलले पाए विश्वासको मत

  
कर्णाली टाइम्स बिहीबार, बैशाख १३, २०८१


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहिबारको प्रदेश सभाबाट उनले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिएका हुन्।
विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत हालेका थिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए।
विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए।
एक जना मात्र सदस्य रहेको राप्रपा तटस्थ बसेको छ।
चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबण्डाको विषयमा सत्ता साझेदार दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १४, राप्रपा र समाजवादीका १/१ जना गरि हाल ३९ जना सांसद छन्। नेपाली काँग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन्।
विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही चैत २२ गतेदेखि निलम्बनमा परेका छन्।