बिहीबार, मंसिर १३, २०८१

सामुदायिक विद्यालयको नेतृत्व र व्यवस्थापनबारे प्रदेशस्तरीय गोष्ठी

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २२, २०८१


सुर्खेत। गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको नेतृत्व र व्यवस्थापनका विषयमा दुई दिने गोष्ठी सुर्खेतमा सुरु भएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र सेभ द चिल्ड्रेनको आयोजनामा मंगलबारदेखि विद्यालय व्यवस्थापन र गुणस्तरीय शिक्षाका विषयमा गोष्ठी सुरु भएको हो।
बुधबारसम्म चल्ने गोष्ठीमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, महासंघका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक लगायत सहभागी छन्। गोष्ठीमा सामुदायकि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय व्यवस्थापन समितिको भूमिकाका विषयमा छलफल हुनेछ।
गोष्ठीको उद्घाट सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले सामुदायिक विद्यालयको शिक्षा सुधारको मुख्य कर्ताका रुपमा विद्यालय व्यवस्थापन समिति भएकाले सरकारले उनीहरुलाई सँगसँगै लिएर शिक्षामा गुणस्तर वृद्धिका लागि काम गर्नुपर्ने बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए।
सामुदायिक विद्यालयमा अभिभावकको महत्वपूर्ण योग्दान रहेकाले उनीहरुको योग्दानको कदर गर्न सामुदायिक विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने अध्यक्ष मोक्तानले बताए।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले योजनाबद्ध तरिकाले काम गरेमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढ्ने बताए। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पहिलो भूमिका प्रधानाध्यापकको हुन्छ, त्यसपछि विव्यस नेतृत्व हो,’ उनले भने, ‘विव्यस र प्रधानाध्यापक मैंले गुणस्तरीय शिक्षा दिन्छु भनेर लाग्यो भने सामुदायिक विद्यालयको गुणस्तर अवश्य वृद्धि हुन्छ।’
सरकारले अघि सारेको नमुना विद्यालयको अवधारणाबाट पनि केह िसामुदायिक विद्यालयको शिक्षामा गुणस्तर आएको पौडेलले बताए। कतिपय नमुना विद्यालय पूर्वाधारमा केन्द्रित भएकाले शिक्षामा अझ पनि सुधार आउन नसकेको उनले बताए।
प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश सरकारले शिक्षामा लगानी गर्ने चाहना राखेको भएपनि स्रोत अभावका कारण नसकिएको बताए। अब प्रदेश सरकारले प्रविधिमा आधारित नमुना विद्यालय बनाउने सोच बनाएको उनले जानकारी दिए।
विद्यालयको व्यवस्थापन पक्षले ध्यान दिएर लागेमा सामुदायिक विद्यालयको गुणस्तर बढ्ने सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्नराज ओझाले बताए। संस्थाबाट कर्णालीका केही विद्यालयमा लागु गरिएको ‘विद्यालय नेतृत्व र व्यवस्थापन’ परियोजनापछि सामुदायिक विद्यालयको शिक्षा सुधारमा व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने पाठ आफूहरुले सिकेको उनले बताए।