शनिबार, कार्तिक १०, २०८१

युवा मानव अधिकार रक्षक सञ्जाल गठन

  
कर्णाली टाइम्स शनिबार, असार १६, २०८१


सुर्खेत। मानव अधिकारको रक्षाका लागि वकालत गर्न सुर्खेतमा ‘युवा मानव अधिकार रक्षक सञ्जाल’ गठन गरिएको छ। ग्रामीणमुखी युवा अभियान नेपालको सहजीकरणमा सञ्चालित मानव अधिकार तथा सामाजिक न्याय अभियानमार्फत शनीबार जिल्लास्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो।
पूजा दमाईको अध्यक्षतामा उक्त सञ्जाल ३५ सदस्यीय रहेको छ। सञ्जालको उपाध्यक्षमा खगेन्द्र मल्ल, पर्वत परियार, सचिवमा ललिता विश्वकर्मा, सहसचिवमा तुल्सि गिरी, भुवन विक, कोषाध्यक्षमा निशा विक, सहकोषाध्यक्षमा सम्झना सुनार रहेका छन्।
गठित युवा मानव अधिकार रक्षक सञ्जाललाई ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालले अभिमुखीकरण गर्नेछ। सञ्जालले स्वयमसेवकका रुपमा मानव अधिकार रक्षाका लागि वकालत गर्नेछन्।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका अध्यक्ष पिताम्बर ढकालले अरुको मानव अधिकार रक्षाका लागि काम गर्दा रक्षकलाई आउने चुनौतीसँग जुध्न तयार हुनुपर्ने बताए। आफ्नो सुरक्षालाई मध्यनजर राख्दै मानव अधिकार रक्षकले काम गर्नुपर्ने सुझाव उनले दिए।
मानव अधिकार प्रत्याभूत गराउने दायित्व राज्यको भएपनि रक्षकले वकालत गरेर सरकारलाई सहयोग गर्नुपर्ने सुझाव ढकालले दिए।
मानव अधिकार आयोगका अधिकृत मानबहादुर कार्कीले मानव अधिकार सुनिश्चित गराउने आफ्नो दायित्व पूरा गर्न रक्षकले सरकारलाई सघाउनेपर्ने बताए।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मानव अधिकार रक्षकले नै आफ्नो कर्तव्य भुलेर मानवअधिकार हनन हुने काम गरिरहेको पाईएकाले यस्ता विषयमा संयम हुन आग्रह गरे। आफ्नो क्रियाकलापले अरुको अधिकार प्राप्तिमा असर पुग्न सक्ने कुरालाई सबैले ख्याल गर्नुपर्ने प्रजिअ आचार्यले बताए।