आइतवार, कार्तिक ११, २०८१

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

  
कर्णाली टाइम्स आइतवार, साउन ६, २०८१


सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ।
एमाले अध्यक्षसमेत रहेका ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्राबधान छ।
२७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा रहेका कारण ती दलहरुबाट पनि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नेछन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गरिसकेको छ।