बुधबार, चैत्र १९, २०८१

कर्णाली सरकारमा मन्त्री हुने सांसदको नाम टुंग्याउँदै काँग्रेस, बुधबारसम्म सिफारिस गरिने

  
कर्णाली टाइम्स सोमवार, साउन १४, २०८१


सुर्खेत। नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री भएर जाने सांसदहरुको नाम टुंग्याउन थालेको छ। मन्त्रीको नाम टुंग्याउन लामो समयदेखि काठमाडौंमा रहेका संसदीय दलका पदाधिकारी तथा सांसदहरुले छलफललाई अन्तिम रुप दिन थालेका हुन्।
आज (सोमबार) अन्तिमसम्म सरकारमा सहभागी हुने सांसदको नाम टुंग्याईने र मंगलबार वा बुधबारसम्म सिफारिस गर्ने तयारी गरिएको छ। कर्णाली प्रदेश सरकारबाट माओवादीका मन्त्री बाहिरिनु अघि नै काँग्रेसका सांसदहरु छलफल गर्न भन्दै काठमाडौं गएका थिए।
नेपाली काँग्रेस कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मत बिष्ट, सांसद राजिब विक्रम शाह लगायतका सदस्यहरु काठमाडौंमा छ। कतिपय सांसदहरुले आफूलाई मन्त्री बनाउन केन्द्रीय नेतासँग लबिइङ गरिरहेका छन्।
प्रमुख सचेतक बिष्टले सोमबार मोटामोटी नाम टुंग्याउने र मंगलबार प्रदेशमा फर्किएर अन्तिम निर्णय गरिने बताए। सांसदहरु मंगलबार सुर्खेत फर्किएर ढिलोमा बुधबारसम्म मुख्यमन्त्रीलाई मन्त्री बन्नेहरुको नाम सिफारिस गरिने उनले बताए।
असार १७ गते केन्द्रमा नेकपा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन टुटेको थियो। त्यसपछि काँग्रेस र एमालेबीच सरकार बनेको छ। सोहीअनुसार कर्णाली प्रदेशमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने भएपनि काँग्रेसले मन्त्रीको नाम पठाउन सकेको छैन।
माओवादीबाट सहभागी मन्त्रीले असार ७ गते कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका थिए। सोही दिन पार्टीले एमालेका यामलाल कँडेलको नेतृत्वमा भएको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
यसअघि २०८० माघमा केन्द्रमा माओवादी र एमालेबची दोस्रोपटक गठबन्धन हुँदा कर्णाली सरकारमा माओवादीबाट चार जना मन्त्री सहभागी भएका थिए। त्यतिबेला भौतिक पूर्वाधार तथा सहरी विकास, जलस्रोत तथा उर्जा, आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय माओवादीले लिएको थियो।
काँग्रेसले मन्त्रीको नाम नटुंग्याउँदा माओवादी फिर्ता भएयता कर्णालीको मन्त्रिपरिषद अपूर्ण छ।
संसदीय दलका नेता जीवन शाही (हाल निलम्बित), कर्णालीबाट पार्टीको उच्च पदमा रहेका काँग्रेस उपसभापति पूर्णबहादुर खड्का काठमाडौंमा हुने भएकाले आवश्यक छलफल गर्न काँग्रेस सांसद काठमाडौं गएका थिए।
नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्य समितिले आइतबार वैठक बसेर एमालेसँगको सहकार्यमा कर्णाली प्रदेश सरकारमा सहभागी हुने सैद्धान्तिक निर्णय गरेको छ।
हाललाई माओवादी फिर्ता भएपछि खाली भएका चार वटा मन्त्रालय लिएर काँग्रेस कर्णाली सरकारमा सहभागी हुने योजना रहेको पूर्वअर्थमन्त्री तथा सांसद बेदराज सिंहले बताए।