आइतवार, भदौ २३, २०८१

माओवादी फुट्छ भनेर गलत प्रचार गरिएको छः प्रचण्ड

  
कर्णाली टाइम्स शुक्रबार, भदौ १४, २०८१


सुर्खेत। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी फुट्छ भनेर गलत प्रचार गरिएको बताएका छन्। उनले केही बाह्य तत्वहरुले डिजाईन गरेर पार्टी फुट्ने हल्ल चलाएको बताए।
शुक्रबार पार्टीको आन्तरिक छलफलमा भाग लिन सुर्खेत आएका प्रचण्डले पत्रकाहरुसँग कुरा गर्दै पार्टीभित्र भएका छलफल र बहसलाई गलत प्रचार गरेर भ्रम छर्न खोजिएको बताए।
‘पार्टीभित्र छलफल र बहस हुन्छन्, कहिले पार्टीका विषयमा हुन्छन्, कहिले देशको परिस्थिति र संविधान रक्षाका लागि हुन्छन्,’ प्रचण्डले भने, ‘यस्ता कुरालाई डिजाईन गरेर बाहिर भ्रम छर्न खोजिएको छ, यसलाई बन्द गर्न म आग्रह गर्न चाहन्छु।’
पार्टीभित्र उपमहासचिव जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको अध्यक्ष प्रचण्डाले बताए।
उनले माओवादीले सरकारबाट बाहिर रहेका बेला पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको बताए।
पार्टीभित्र नेतृत्व हस्तान्तरको विषयमा तत्काल छलफल चलाउनु उपयुक्त नहुने उनको भनाई छ। पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले आफूले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए। टिम बनेको खण्डमा भने आफू नेतृत्वबाट बाहिरिएर अर्को कुनै भूमिकामा जाने उनले बताए।