आइतवार, भदौ २३, २०८१

प्रतिपक्षीले संसदीय मर्यादाको ख्याल गर्नुपर्छः एमाले महासचिव पोखरेल

  
कर्णाली टाइम्स बिहीबार, भदौ २०, २०८१


सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षमा रहेको दलले संसदीय मर्यादा ख्याल गर्नुपर्ने टिप्पणी गरेका छन्। बिहिबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले केन्द्रमा सत्ताबाहिर भएको दल नेकपा माओवादी केन्द्रले संसदीय मुल्यमान्यता ख्याल नगरेको टिप्पणी गरेका हुन्।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाहिर भएको झोंकमा संसदमा अशोभनीय अभिव्यक्ति दिईरहेको आरोप लगाए। यस्तो अभिव्यक्तिले संसदभित्र अराजकता पैदा गरेको बताए।
उनले सत्ता परिवर्तनपछि प्रतिपक्षको भूमिकामा रहेको माओवादीले संवेदनशिलता र संसदीय मर्यादाको ख्याल नगरेको टिप्पणी गरे।
‘प्रतिपक्षीले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै हिँड्नु लोकतान्त्रिक हुन सक्दैन, प्रतिपक्षीले लोकतान्त्रिक मुल्यमान्यतामा ध्यान दिनु आवश्यक हुन्छ।’ पोखरेलले भने।
संविधान संशोधन गर्ने सन्दर्भमा सबै दललाई सँगसँगै लिने पक्षमा सत्तारुढ दल काँग्रेस र एमाले रहेको उनले बताए। पछिल्लो समय समानुपातिक प्रणालीका विषयमा शंका गर्दै भ्रम सिर्जना भएको बताउँदै उनले संविधान संशोधनका क्रममा एमाले समानुपातिक तथा समावेशितलाई यथावत राखेर स्थायित्व खोज्नतर्फ लाग्ने बताए।
उनले देशलाई आर्थिक संकटबाट बाहिर निकाल्न उद्यमशिलतालाई जोड दिनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको बताए। सरकारले युवाहरुलाई रोजगारीसँग जोड्ने उद्देश्यका साथ परियोजना अघि सारेकोले उक्त परियोजनामा जोडिन युवाहरुलाई आग्रह गरे।
उनका अनुसार सरकारले स्वदेशमै उद्यम गर्न चाहने युवाहरुका लागि विनाधितो कर्जा प्रवाह गर्ने परियोजना अघि सारेको छ।