सुर्खेत। शुक्रबारदेखि कर्णाली वीरेन्द्रनगरमा महायज्ञ सुरु भएको छ। ‘श्रीमत भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ’ नाम दिईएको सप्ताहमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक छन्। यो महायज्ञ सञ्चालन गर्न मानवसेवा आश्रमले पहल गरेको हो। यसको मुल आयोजक समितिमा सुर्खेतका प्रभुद्ध व्यक्तिहरु जोडिएका छन्।
कर्णालीलाई सडक मानवरहित प्रदेश बनाउने परिकल्पनाका साथ यो महायज्ञलाई आवश्यक संरचना बनाउने आधार बनाईएको छ। महायज्ञबाट संकलन हुने रकमबाट असायह, सडकमा बस्न बाध्य भएका मानिसलाई राख्न आवास संरचना बनाउने लक्ष्य लिईएको छ।
त्यस्ता व्यक्तिलाई मानवोचित सेवा दिने उद्देश्यका साथ कर्णाली प्रदेशस्तरीय आवास संरचना निर्माण गर्न दाताहरुको सहयोग लिन लागिएको महायज्ञ मुल समारोह समितिका संयोजक डा. नवराज केसीले बताए। महायज्ञबाट जुट्ने सहयोग रकम सहयोगापेक्षी सडक मानवलाई सेवा दिने आधार बन्ने उनले बताए। यसलाई सहयोगापेक्षी सडक मानवरहित प्रदेश बनाउने आधारका रुपमा पनि लिईएको केसीले बताए।
‘अपांगता भएर जन्मिने बालबालिकामध्ये कयौं आफ्नो भविष्यमा सडकमा पुग्ने गरेको देखिन्छ, उनीहरु जस्तै अरु समस्या भएका मानिसको सहारा कोही हुँदैन,’ बालरोग विशेषज्ञ डा. केसीले भने, ‘यस्ता अभिभावकविहीन मानिसका लागि हामीले सुरु गरेको महायज्ञले ढोका खोलिदिने अपेक्षा गरेका छौं, महायज्ञको दुरुपयोग भएको गुनासो आईरहेका बेला हामीले मानवीय सेवाका लागि सदुपयोग गरेर देखाउनेछौं।’
आवासीय संरचना निर्माणका लागि महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ। उक्त भवनमा सडक आश्रित मानिसको उद्दार गरेर राख्ने मात्र नभई मानवसेवा बुझाउने मानवता अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने योजना छ।
‘मानवता अध्ययन केन्द्रको रुपमा विकास गरिने परिकल्पना छ, जसले सडकमा बस्न बाध्य मानिसलाई सहयोग गर्न अरु मानिसलाई पनि जागरुक बनाउनेछ,’ महायज्ञ मूल आयोजक समितिका सह–संयोजक सागर भुषालले भने।
महायज्ञमा प्रमुख कथावाचक रहेका गौतम, सहभागी हुने अन्य कलाकार र स्वयमसेवकले पारिश्रमिक नलिने भएकाले यसबाट जुट्ने सबै रकम मानव सेवा आश्रमको प्रदेशस्तरीय संरचना निर्माणमा लगाईने उनले बताए।
आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको गंगामाला धार्मिक वन तथा देउतीबज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएका छन्। कर्णाली प्रदेश सरकारले पनि आश्रमको संरचना निर्माणका लागि भनेर चालु आर्थिक वर्षको बजेटबाट १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। सरकारले दिने रकम पर्याप्त नहुने भएकाले थप स्रोत जुटाउन महायज्ञलाई आधार बनाईएको हो।
भवन निर्माणको गुरुयोजना पनि निर्माण गरिएको छ। इञ्जिनियर सजिव शाक्यले निशुल्क गुरुयोजना बनाईदिएका थिए।
कम्तिमा दुई सय जना सहयोगापेक्षी मानिसलाई सेवा दिन सक्नेगरि मैत्रीपूर्ण भवन बनाउनेगरि गुरुयोजना तयार भएको भुषालले जानकारी दिए।
उक्त संरचनाअन्तर्गत ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र पनि निर्माण गरिनेछ। एक सय शैय्याको मानसिक स्वास्थ्य अस्पताल पनि मानव सेवा आश्रमको यही संरचनाभित्र निर्माण गर्ने योजना बनाईएको छ। यससँगै सहयोगापेक्षी भएर सडक तथा सार्वजनिक स्थलमा रहेका पशुचौपायाका लागि पनि व्यवस्थापन गर्न आश्रम बनाउने योजना छ।
एक सय जनालाई आवासीय सुविधा दिन सकिने मानवता अध्ययन केन्द्र, मानवसेवा समृद्धिग्राम, पार्क लगायतका पूर्वाधार पनि मानवसेवा आश्रम संरचनाभित्र निर्माण गरिने भुषालले बताए।
२०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा मानवसेवा आश्रम स्थापना भएको थियो। यसमार्फत हालसम्म ४ सय १५ जना असहाय मानिसलाई उद्दार गरिएको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशिला केसीले बताईन्। उनका अनुसार अहिले पनि यो आश्रममा ८० जना असहाय व्यक्तिहरु आश्रित छन्।
‘सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नभएपछि समाजको पुँजी पनि मानव सेवामा लगाउने लक्ष्य राखेका छौं, यसले सहयोग कुरिरहेका मानिसलाई समाजकै सहयोग हुने आशा गरेका छौं।’ केसीले भनिन्।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्नेगरि काम गरिरहेको छ।
कर्णाली प्रदेशलाई २०७६ माघ ४ गते देशकै पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको थियो। कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र मानवसेवा आश्रमको सहकार्य रहनेगरि गरिएको घोषणालाई पूर्णरुपमा कार्यान्वयन गर्न संरचना निर्माणको आवश्यकता रहेको उनले बताईन्।
पूर्ण सडकआश्रित मानमुक्त प्रदेशको परिकल्पनासहित आयोजना गर्न थालिएको महायज्ञलाई सफल बनाउन एक मुल आयोजक समिति र २५ वटा उपसमितिहरु बनाईएको छ। यसको संरक्षकका रुपमा प्रदेशका विभिन्न जिल्लाका प्रमुख तथा प्रतिनिधिहरुलाई मनोनयन गरिएको छ। मानवसेवा आश्रमसँग प्रत्यक्ष जोडिएर काम गर्ने ३० जना अभियानताहरु सुर्खेत केन्द्रित भएर महायज्ञमा सहजीकरण गर्नेछन्।