सुर्खेत। गृहमन्त्री रमेश लेखकले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको बताएका छन्। मंगलबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले सम्झौताअनुरुप चलेको सरकारले अस्थिर बनाउन केही तत्वले षड्यन्त्र गरिरहेको बताए।
‘सरकार ढल्छ भन्ने हल्लामा कुनै आधार छैन, सरकारमा भएका दलहरुबीच सौहार्दपूर्ण सम्बन्ध छ,’ उनले भने, ‘प्रधानमन्त्रीले नै आलापोलोको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभएको छ, त्यसैअनुसार सरकारले संविधानको रक्षा गर्ने काम गरेको छ।’
उनले दुई दलबीच भएको आलोपालोको सम्झौताअनुसार अबको १८ महिनापछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।
लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल गर्ने छुट कसैलाई नभएको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भईरहेको अनुसन्धानमा प्रभाव पार्नेगरि काम भईरहेको उनले बताए।
‘सहकारीको रकम अपचलनका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होईन, अरु पनि यसमा तानिएका छन्,’ उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भईरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होईन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन्।’
गृहमन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने कुरा गलत भएको बताए। ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ।’
प्रदेशस्तरीय सुरक्षा परिषदको वैठकमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षामा धेरै चुनौती नभएको बताए। आत्महत्या, लागुऔषध, सवारी दुर्घटना कर्णालीका प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको र यसको समाधानका लागि सम्बन्धित पदाधिकारीलाई निर्देशन दिईएको उनले बताए।
संघीयतापछि पनि प्रदेश बाहिर रहेका नेपाली प्रहरी लगायतका कर्णालीका केही महत्वपूर्ण संरचना सार्ने प्रयास भईरहेको उनले बताए। यसका लागि आवश्यक जग्गा प्राप्तीका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने उनले बताए।