बुधबार, बैशाख १०, २०८२

कर्णालीका सम्भावना बिर्सेर अभाव मात्र बुझ्नु गलत हो : मुख्यमन्त्री कँडेल

  
कर्णाली टाइम्स सोमवार, फागुन ५, २०८१


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन्। सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले कर्णालीमा समस्या मात्र नभएर सम्भावनाको सरोवर समेत भएको बताए।

मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको बताए।

मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औंल्याए।

कर्णालीमा थुप्रै सम्भावना हुँदाहुदै पनि दुर्गम, अभाव र विकट प्रदेशको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत रहेको उनले टिप्पणी गरे।

‘वर्षौंदेखि बनाइएको रोग, भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ, कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पु¥याउन जरुरी छ।’ मुख्यमन्त्री कँडेलले भने।

पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरुले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलले बताए।

‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन, आफनो अधिकार क्षेत्र पर्ने कामहरु इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरु संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु,’ उनले भने।

कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतिले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए।

वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो।

नेपाल सरकारका पूर्वसचिव तथा उत्सवका आयोजक सदस्य केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको सृङ्खला सुरु गरिएको बताए।

‘कर्णालीका समस्याहरुलाई राष्ट्रिय समस्याका रुपमा स्थापित गर्नका लागि पनि यस्ता खालका बहसहरु उपयुक्त हुन्छन्,’ उनले भने, ‘नीति बहस निकै आवश्यक हुन्छ, पछाडि परेको वर्ग समुदायलाई माथी उठ्नका लागि यस्ता खालका बहसले निकै मद्दत पुग्छ।’