सुर्खेत। दैलेखमा ११ बर्षीय बालकको हत्या गरेको अभियोगमा दुई जना बालक पक्राउ परेका छन्।
माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बालक हराएपछि उनका परिवारले माघ २६ गते ईलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।
बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घरनजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका थिए।
उक्त बयानका आधारमा आइतबार १४ र १७ बर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए। पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भईरहेको उनले बताए।
पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो।
तीन जना मिलेर चोरी गरी ल्याएको तिलहरी बेच्ने क्रममा विवाद हुँदा दुई जना मिलेर एक साथीको हत्या गरेको बयानबाट खुलेको प्रहरीले जनाएको छ।