सुर्खेत। शिक्षाको क्षेत्रमा काम गरिरहेको कारखाना समूहले मानव अधिकार र शिक्षाको अधिकारबा विषयमा दुई दिने गोष्ठी गरेको छ। आइतबारदेखि सुरु भएको गोष्ठी सोमबार सम्पन्न भएको छ।
मानव अधिकार तथा विशेषगरि शिक्षा अधिकारसम्बन्धि ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ गोष्ठीको अयोजना गरिएको हो। सार्वजनिक शिक्षामा जवाफदेहिता सुनिश्चित गर्नका लागि सामूहिक छलफलका माध्यमबाट मार्गचित्र पहिचान गर्नु पनि गोष्ठीको उद्देश्य थियो।
गोष्ठीमा मानव अधिकारका बारेमा मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले प्रशिक्षण गरेका थिए।
शिक्षासँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धी, नेपालको संविधान, शिक्षासँग सम्बन्धित ऐन, शिक्षालाई गुणस्तरीय र जवाफदेही बनाउने विधिका विषयमा कारखाना समूहका प्रतिनिधिहरुले प्रशिक्षण गरेका थिए।
गोष्ठीमा मानव अधिकार र शिक्षाको अधिकार उल्लंघनका विषयमा पनि छलफल गरिएको थियो।
गोष्ठीमा सहभागी नागरिक समाज, स्थानीय तका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुले शिक्षामा सुधारका लागि आफ्नो तर्फबाट गर्न सकिने कामका बारेमा छलफल गरेका थिए।
गोष्ठीमा बोल्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले स्थानीय सरकारसँग स्रोतसाधन अभाव हुँदा अपेक्षाअनुसारको शिक्षामा प्रगति गर्न नसकिएको बताए। शिक्षामा गुणस्तर ल्याउन स्थानीय सरकारले आफ्ना तर्फबाट प्रयास भने जारी राखेको उनले बताए।
ग्रामीण क्षेत्रमा व्याप्त गरिबीका कारण रोजगारीका लागि भारत जाने अभिभावकसँगै बालबालिका जानुले उनीहरुको सिकाईमा समस्या भएको उनले बताए। शिक्षाको क्षेत्रमा स्थानीय सरकारका लागि यो प्रमुख चुनौतीमध्ये एक भएको उनको भनाइ थियो।
लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले संघीय सरकार र स्थानीय सरकारबीच तालमेल नमिल्दा सोचेअनुसार शिक्षामा प्रगति गर्न नसकिएको बताए।
कर्णाली, बागमती र मधेश प्रदेशमा काम गरिरहेको कारखाना समूहले सुर्खेतको लेकवेशी र गुर्भाकोट नगरपालिकाले जवाफदेही शिक्षाका लागि नागरिक समाज सशक्तिकरण (सीएसई) परियोजनामार्फत काम गरिरहेको छ। शिक्षाका लागि विश्वव्यापी साझेदारी (जीपीई) को सहयोगमा सञ्चालित एजुकेशन आउट लाउड कार्यक्रमअन्तर्गतको उक्त परियोजनामार्फत संस्थाले शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र समावेशतिालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ काम गरिरहेको छ।