शनिबार, कार्तिक १०, २०८१

यही अवस्था रहे कर्णालीमा एसईई गर्न सकिन्छ : सामाजिक विकासमन्त्री रावल

  
कर्णाली टाइम्स बुधबार, बैशाख १७, २०७७
कर्णालीका सामाजिक विकासमन्त्री दल रावलसहितकाे सहभागितामा शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटकाे स्क्रिन सट ।

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कोरोना जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) क्लस्टर छुट्ट्याएर सञ्चालन गर्न संघीय सरकारलाई सुझाव दिएका छन् । कर्णालीमा हालसम्म कोरोना नदेखिएको र वैशाख मसान्तसम्म यही अवस्था रहे जेठभित्र एसईई सुरु गर्न सकिने उनको भनाइ छ ।

‘कर्णाली अहिलेसम्म कोरोनाबाट सुरक्षित छ, तैपनि हामीले परीक्षणलाई तीव्रता दिइरहेका छौं,’ मंगलबार शिक्षा पत्रकार समूहसँगको भर्चुअल प्रेस मिटमा मन्त्री रावलले भने, ‘यो अवस्था यथावतै रहे सावधानीका नियम पालना गर्दै कर्णालीमा एसईई सुरु गर्ने सोच बनाएका छौं ।’ संघीय शिक्षामन्त्रीलाई समेत कोरोना प्रभावको अवस्था आँकलन गर्दै क्लस्टर छुट्ट्याएर प्रदेशगत रूपमा एसईई सुरु गर्न सुझाव दिइएको उनले बताए ।

कर्णालीका १० जिल्लामा ३५ हजार ८ सय ६३ परीक्षार्थी छन् । सबैभन्दा धेरै सुर्खेतबाट ७ हजार ३ सय ८५ र सबैभन्दा कम डोल्पाबाट ६ सय ४२ छन् । यो संख्या खासै धेरै नभएकाले परीक्षा व्यवस्थापनमा पनि गाह्रो नहुने मन्त्री रावलले बताए ।

यसअघि कर्णालीमा १ सय ६९ वटा परीक्षा केन्द्र तोकिएका थिए । ती सबै परीक्षार्थी पढिरहेको भन्दा अर्को विद्यालयमा थिए । मन्त्री रावलले अब ‘होम सेन्टर’ राखेर परीक्षालाई सहज रूपमा सञ्चालन गर्न सकिने पनि बताए ।

कर्णालीका हिमाली जिल्लाका केही विद्यालयमा फागुनदेखि र बाँकी विद्यालयमा वैशाखदेखि शैक्षिक सत्र सुरु हुन्छ । फागुनदेखि शैक्षिक सत्र सुरु हुने विद्यालयमा कोरोनाको प्रभाव बढी परेको छ । मन्त्री रावलले यो प्रभाव न्यूनीकरण गर्न दूरशिक्षाका साथै आमसञ्चारका माध्यमलाई प्रयोगमा ल्याउने गरी योजना बनिरहेको बताए ।

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत कोरोनाले पारेको प्रभावलाई कम गर्ने गरी योजना बनाइने उनको भनाइ छ । यद्यपि यसको लागि संघीय र स्थानीय सरकारसँग समन्वय गरिने मन्त्री रावलले बताए ।

 

साभार : ईकान्तिपुर डटकम