शनिबार, कार्तिक १०, २०८१

सुर्खेत प्रशासनको आत्मकेन्द्रित निर्णय

  
कर्णाली टाइम्स शुक्रबार, साउन २३, २०७७

सुर्खेत । जिल्ला प्रशासन कार्यालयले समग्र जिल्लाको शान्ति–सुरक्षा, सुशासन, जनजीवनको सहजीकरणको काम गर्ने गर्छ । यो जिल्लास्थित अन्य कार्यालयहरुको ‘हाकिम कार्यालय’ पनि हो । तर, सुर्खेत जिल्ला प्रशासन कार्यालयले आत्मकेन्द्रित भएर निर्णय गरेको छ ।

२०७७ साउन २२ गते जारी गरिएको सुचनाअनुसार २५ गतेदेखि लागु हुने गरी कार्यालयबाट जारी हुने नागरिकता, राहदानी सिफारिस, संघसंस्था दर्ता, नवीकरण र अन्य सिफारिस बन्द गरिएको छ । कोरोना प्रकोपको कारण भीडभाड कम गर्न यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ । तर, जिल्ला प्रशासनभन्दा बढी भीडभाड हुने अन्य कार्यालयहरु पनि थुप्रै छन् । मालपोत, नापी, खानेपानी, विद्युत, बैंकजस्ता कार्यालयहरुमा जिल्ला प्रशासनमा भन्दा बढी भीडभाड हुने गर्छ । ती कार्यालयमा सेवा बन्द गर्नतिर भने जिल्ला प्रशासन कार्यालयले सोचेको छैन । ‘मालपोत, खानेपानी, विद्युत, बैंकमा हेर्ने हो भने त जिल्ला प्रशासनमा केही पनि होइन, तर प्रशासनले आफ्नो कार्यालयलाई मात्र सुरक्षित राख्ने गरी सेवा दिएको छ,’ सुर्खेतका एक सेवाग्राहीले भने, ‘सम्पूर्ण कार्यालय र जनताको अभिभावकको रुपमा रहेको कार्यालयबाट यस्तो हुनु राम्रो होइन ।’ बजारमा समेत भीडभाड नियन्त्रण गर्न कुनै कदम नचालिएको उनले बताए ।