शनिबार, कार्तिक १०, २०८१

सहिदको सम्झनामा वृक्षारोपण

  
कर्णाली टाइम्स आइतवार, साउन २५, २०७७

सुर्खेत । पाँच वर्ष अगाडि भएको अखण्ड मध्यपश्चिम आन्दोलनमा आजकै दिन साउन २५ गते शहादत प्राप्त गरेका सहिदको सम्झनामा वृक्षारोपण गरिएको छ ।

सहिद याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार वडा नम्बर ११ को देउती बज्यै सामुदायिक वनमा वृक्षारोपण गरिएको सहिद याम बहादुर बिसीका बुवा शेर बहादुर बुढाले जानकारी दिए ।

प्रदेश स्थापनाका लागि आफ्नो छोराले ज्यान दिएपनि अहिलेसम्म कुनै पनि निकायले चासो र उनीहरुको सम्मान गर्न नसकेको उनको गुनासो छ ।

प्रदेश स्थापनाका लागि शहादत प्राप्त गरेका सहिदहरुको सपना राज्यले पुरा गर्न नसकेको सहिद याम बहादुर बिसीकी आमा बाली बुढाले बताइन् । सहिदको बलिदानीकै कारण अहिले विभिन्न पद र पावरमा पुगे पनि उचित सम्मान गर्न नसक्दा आफु दुःखी भएको उनको भनाई छ ।
तत्कालिन समयमा सहिद परिवारसँग गरिएका निर्णयहरु हालसम्म पनि अक्षरंस लागु हुन नसकेको प्रतिष्ठानका कोषाध्यक्ष खगेन्द्र अधिकारीले बताए । प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दा समेत शहित परिवालाई परिचय पत्रको समेत व्यवस्थपन गर्न नसक्दा सहिदप्रति अवमुल्यंन भएको कोषाध्यक्ष अधिकारीको भनाई छ ।

प्रदेश प्राप्तिकालागि ४ जना सहिदको रगत बगेर मात्रै सम्भव भएको स्मरण गर्दै उनीहरुले बगाएको रगतको उच्च सम्मान र सपना पुरा गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नन्दलाल शर्माले बताए ।

विभिन्न जातका करिब २०० बोटबिरुवा लगायत वरपिपल समेत रोपिएको प्रतिष्ठानकी सचिव भगवती विसीले जानकारी दिइन् । चौतारीको रुपमा विकास गर्ने उद्देश्यका साथ वरपिपल रोपिएको सचिव बिसीको भनाई छ ।

साथै सहिद पार्कमा चारै जना सहिदको सालिक राख्ने आश्वासनको कार्यान्वयन नहुँदा आफुहरु दुःखी भएको उनले बताइन् ।
२०७२ सालमा देशमा संघीयताको सिमाङ्कन भएसँगै साविकको मध्यपश्चिमलाई सुदुरपश्चिममा गाभ्ने गरी भएको निर्णयको विरुद्धमा स्वस्फूर्त रुपमा आन्दोलन भएको थियो ।

उक्त आन्दोलन चर्किदै जाँदा २०७२ साउन २५ गते सुर्खेतमा यामबहादुर बिसी, टीकाराम गौतम र गोपाल सिं रजवारको ज्यान गएको थियो । यसैगरी जुम्लामा भएको आन्दोलनमा हरिबहादुर कुँवरको ज्यान गएको थियो ।