शनिबार, कार्तिक १०, २०८१

कर्णालीमा राति प्रवेशमा रोक, दिउँसो प्रवेश गर्न पीसीआर परीक्षणको रिपोर्ट चाहिने

  
कर्णाली टाइम्स शुक्रबार, साउन ३०, २०७७

सुर्खेत । कर्णालीमा कोरोना भाइरसको जोखिम बढेपछि प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि देखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले कोरोनाको जोखिमबाट बच्न स्वदेश तथा विदेशबाट आएका नागरिकलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिन अघिको पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

कर्मचारी र जनप्रतिनिधि कर्णालीबाट अत्यावश्यक तथा सरकारी कामले जाँदा र भित्रिँदा पीसीआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन बैठकले निर्देशन दिइएको छ ।

बैठकले मास्क अनिवार्य प्रयोग गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ ।

कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी, काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेबिहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

भारतबाट फर्किएका नागरिकलाई सीमा नाकाका क्वारेन्टाइनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।