बुधबार, बैशाख ५, २०८१

अनलाइन कक्षाबाट वञ्चित भएको विरोधमा प्रर्दशन

  
कर्णाली टाइम्स मंगलबार, भदौ ३०, २०७७

सुर्खेत। कोरोना संक्रमणको समयमा कर्णाली प्रदेशका बालवालिकाहरुको समान शिक्षा प्राप्त गर्नको लागि सरकारले भुमिका खेल्नुपर्ने भन्दै बाल क्लवमा आवद्ध बालवालिकाहरुले प्रर्दशन गरेका छन् ।

अहिलेको अवस्थामा प्रदेशका सबै बालवालिकाहरु शिक्षामा सहभागी हुन नपाएको भन्दै मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा रहेको नवज्योति बाल संजालका बालवालिकाहरु मौन प्लेकार्ड प्रर्दशन गरेका हुन् ।

कोरोना संक्रमणको अवस्थामा सञ्चालन गरिएको अनलाइन ‘भर्चुअल’ कक्षामा कर्णालीका दुर्गम क्षेत्रका बालबालिका सहभागी हुन नसकेको भन्दै सबैलाई सहभागी गराउने खालको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग रहेको छ ।

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नवज्योति केन्द्रको समन्वयमा सञ्जालले बाल अधिकारको सुनिश्चितताको ग्यारेन्टीको माग गर्दै मौन रुपमा प्रर्दशन गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उनीहरु वीरेन्द्रनगर स्थित मंगलगढी चोकमा सामाजिक दुरी कायम गर्दै प्लेकार्ड प्रर्दशन गरेका छन् ।

उनीहरुले ‘परिवारविहीन र भिन्न क्षमता भएका बालवालिकाको होस् स्याहार सुसार’, ‘अहिलेको अवस्थामा बालवालिकाहरुको शिक्षामा सरकारको भुमिका ?’ ‘बाल श्रम शोषण भइरहँदा राज्य र सम्बन्धित निकाय किन मौन’ लेखिएका प्लेकार्डहरु बोकेर प्रर्दशन गरेका थिए ।
मौन प्लेकार्ड प्रर्दशन पछि बाल सञ्जालका अध्यक्ष विरेन्द्र सोडारीले अहिलेको अवस्थामा भर्चुअल शिक्षा कर्णाली प्रदेशका लागि उपयूक्त नभएको बताए ।

‘कर्णालीका सबै ठाउँमा इन्टरनेटको सुविधा छैन, कुनै कुनै ठाउँमा मात्र यो सुविधा छ’ उनले भने, ‘यस्तो अवस्थामा हामी भर्चुअल कक्षाबाट वञ्चित भएका छौ ।’ हुने खाने र शहरमा बस्ने बालवालिकाको लागि मात्र भर्चुअल शिक्षा प्रभावकारी रहेको उनको भनाई थियो ।

बालवालिकाको लागि छुट्याइएको बजेट अन्य काममा खर्च गर्ने प्रवृत्ति रहेको भन्दै सम्बन्धित शिर्षकमै खर्च गरिनुपर्नेमा जोड दिए । सञ्जालका सहसचिव शुशिल सुनारले कोरोना परिक्षणको दायरालाई बढाउनुपर्ने भन्दै बालवालिकाको लागि उपयूक्त वैकल्पिक शिक्षाको व्यवस्था हुनुपर्ने बताए ।

बाल सञ्जालका सल्लाहकार ललित थापाले बालवालिकामाथि हुने हिंसाको अन्त्य हुनुपर्ने बताए । सामाजिक अपराधहरु बढ्दै गएको भन्दै अपराधीहरुलाई कारवाही हुनुपर्ने उनको भनाई थियो । मौन प्लेकार्ड प्रर्दशनिमा सहभागी नवज्योति केन्द्रका निर्देशक सिस्टर रोसिकाले कोरोना संक्रमणलाई ध्यान राख्दै मौन रुपमा प्लेकार्ड प्रर्दशन गरिएको बताइन ।

अहिलेको अवस्थामा अभिभावक विहीन बालवालिकाहरुको अवस्था नाजुक रहेको भन्दै उनीहरुको हक अधिकार प्राप्तीको लागि राज्यले ध्यान दिनुपर्नैमा जोड दिइन । उनले बालवालिकाको हक अधिकार सुनिश्चित गर्नको लागि सबैले आ आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने बताइन । केन्द्रका फिल्ड सुपरभाइजर जरमाया बाँठाले विगतका वर्षहरुमा आयोजना हुने ठूला कार्यक्रमलाई स्थगित गरेर अहिले दुरी कायम गरि प्लेकार्य प्रर्दशन गरिएको बताइन ।