शनिबार, कार्तिक ८, २०७७

यस्ता पाे छिमेकी !

  
कलेन्द्र सेजुवाल शुक्रबार, असोज १६, २०७७
कलेन्द्र सेजुवाल, काेरानामुक्त भएका पत्रकार

मलाई कोरोना संक्रमण पुष्टि भएको दोस्रो दिन असोज १ को साँझ डा. अस्मिता भट्टराईको फोन आयो । कोरोना प्रतिकार्यमा सक्रिय यी युवा चिकित्सक मेरी छिमेकी पनि हुन् । स्वास्थ्य अवस्था बुझेपछि भनिन्, ‘अंकल मैले (संक्रमित भएको) भर्खरै थाहा पाएँ, तर आत्तिनु पर्दैन, केही परे म आइहाल्छु नि ।’

मनोसामाजिक रूपमा केही तनावमा परेको मलाई विभिन्न माध्यमबाट शुभेच्छुकहरूको ढाडस आइरहेको थियो । निकट सम्बन्ध भएका अन्य डाक्टरले पनि आफैं सम्पर्क गरेर परामर्श दिनुभएको थियो । छिमेकमै रहेकी डाक्टरले यति भनेपछि भने मेरो आत्मबल भरिएर आयो । त्यसमाथि सरकारी अधिकृत रहेका उनका बुवा खगेन्द्र दाइले भोलिपल्ट बिहानै फेसबुक मेसेन्जरमा भन्नुभयो, ‘भाइ केही सरसामान, औषधि ल्याइदिनुपर्छ भने भन्नुहोस् है, म जतिबेला पनि तयार छु ।’

कोरोना संक्रमित र उनको परिवारलाई हुने सामाजिक दुर्व्यवहारका दृष्टान्तबारे मैले सुनेको मात्र नभई आफैं स्थलगत रिपोर्टिङ पनि गरेको छु । सामाजिक अभियन्ता सजना सुनारले कोरोनामुक्त भएको एक महिना बित्दासमेत वीरेन्द्रनगर–१ प्रगतिशील टोलमा आफैं र परिवारले भोगेको दुर्व्यवहारको कथा लेखेको थिएँ । उक्त घटनाले पनि मलाई कोरोना भएपछि सबैभन्दा बढी डर समाजकै लागेको थियो । ‘म त घरभित्र बसुँला, परिवारका अन्य सदस्यलाई छरछिमेकले कसरी हेर्लान् रु’ यस्तै तर्कना मनमा खेलिरहेका थिए ।

भट्टराई बाउछोरी त पेशाको कारण पनि कोरोनासँग सचेत हुने भइहाले । घर सामुन्नेका छिमेकी चन्द्रबहादुर ठाडा भाइ र उनकी श्रीमती लक्ष्मीको ‘कोरोना–चेत’ पनि निकै उच्च थियो । आफ्नै घरमा खाजापसल चलाएका उनीहरूले मलाई ढाडस दिँदै भने, ‘दाइ यो ९कोरोना० सबैलाई त हुन्छ नि, परीक्षण नगरेर पो १ कतै हामीलाई पनि छ कि ।’ उनीहरूले आफ्नो खाजा पसलमा बनेको स्वादिलो र पोसिलो खानेकुरा नियमित दिइरहे । कोरोना भ्रमबाट ग्रसित अन्य केहीलाई छिमेकी बहिनी हरिमाया श्रीषले मज्जाले सम्झाएकी थिइन् । उनी भन्थिन्, ‘कोरोना कसलाई छैन र रु तर सजक बन्नुपर्छ, भइहाल्यो भने डराउनु पर्दैन ।’

म सुर्खेतको वीरेन्द्रनगर–८, कालुन्चोकको कृष्णमन्दिर टोलमा बस्छु । केही पुराना र केही नयाँ बस्ती आएका घर पनि छन् । १७ दिन आइसोलेसनमा बस्दा मलाई कोरोनासँग लड्न सबैभन्दा बढी आत्मबल परिवार र छरछिमेकको प्राप्त भयो । केही साथीभाइहरू घरमै स्वास्थ्यलाभको कामना गर्न आइपुगे । छिमेकीहरूले म र मेरो परिवारप्रति उच्च किसिमको सत्व्यवहार देखाउन कुनै कसर बाँकी राखेनन् । आफ्नो बारीमा फलेको तरकारी, फलफूल घरमै ल्याएर दिए । खगेन्द्र दाइले जस्तै ‘केही चाहिन्छ भने भन्नुस् है, हामी ल्याइदिम्ला’ भन्दै सहयोगको भावना प्रकट गरे । सामाजिक दूरी कायम गरेर सजिलैसँग कुराकानी, भलाकुसारी पनि गरे । पृथ्वीबहादुर बूढा अंकलले त एकाबिहानै घरअगाडि आएर भन्नुभयो, ‘बाबु केही पनि चिन्ता नगर्नू, मैले तिमीलाई छिट्टै सन्चो होस् भनेर कुलदेउता भाकल गरेको छु ।’
छरछिमेकको यही व्यवहारले म र मेरो परिवारमा गज्जबको आत्मबल आयो । दुई दिनमै मभित्रको मनोसामाजिक त्रास शून्यमा झर्‍यो । छिमेकको यही वातावरणले श्रीमती बिमला डाँगी र छोरी (भतिजी) धना केसीलाई निर्धक्कसँग मेरो स्याहारमा ध्यान दिने मौका मिल्यो । सुरुमा न्यास्रो मानिरहेका छोराछोरीको मुहारमा पनि चमक देखियो । सामान्य रुघाखोकी भए पनि म नियमित दैनिकीमा फर्किन सफल भएँ । दोस्रो दिनमै मैले संयोजन गर्ने कान्तिपुर कर्णाली ब्युरोका सहकर्मीहरूलाई ग्रुप मेसेन्जरमा लेखें, ‘साथीहरू म स्वस्थ छु, तपाईंहरूसँग निरन्तर काममै हुनेछु ।’

काठमाडौं अफिसबाट अग्रजहरूले ‘मज्जासँग आराम गर्नुहोस्’ भनेर सुझाव दिनुभएको थियो । तर, परिवार र छिमेकबाट पाएको ऊर्जाले मलाई मानसिक रूपमा स्वस्थ बनाइसकेको हुँदा काम गर्न कुनै कठिनाइ भएन । शारीरिक रूपमा त म स्वस्थ नै थिएँ । मैले आइसोलेसनबाटै ब्युरोको संयोजन र समाचार सम्पादन मात्र गरिनँ, डा। गोविन्द केसीको सत्याग्रह र हुम्लाको नेपाल–चीन सीमासम्बन्धी समाचार पनि लेखें ।

संक्रमित भइसकेपछि कार्यालयका सहकर्मी र निकट रहेका करिब १५ जनाको नाम ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि स्वास्थ्य सेवा कार्यालयमा टिपाएको थिएँ । तीमध्ये ७ जनाले मात्र पीसीआर परीक्षण गराए । मैले बारम्बार साथीहरूलाई परीक्षणको लागि सम्झाएँ । तर उनीहरूको डर पनि समाजसँगै बढी थियो । साथीहरू भन्थे, ‘अहिलेसम्म कुनै लक्षण देखिएको छैन, पोजिटिभ आइहाल्यो भने बेकार तनाव मात्र हुन्छ ।’ डेरामा बस्ने कतिपय साथीहरूले त ‘कोरोना देखियो भने घरबेटीले निकाल्छन्’ भन्नेसम्मको चिन्ता प्रकट गरे ।

मेरो घरनजिकै बस्ने एक जना पत्रकार बहिनी म संक्रमित हुनुभन्दा अगाडिदेखि कोरोनासँग मिल्दो लक्षण देखिएर थला परेकी थिइन् । तैपनि उनी समाजको डरले पीसीआर परीक्षण नगरेर बसेकी थिइन् । समाजले भने कर्केनजरले हेर्न थालिसकेको उनी बताउँथिन् । संक्रमित भइसकेको भए पनि मैले उनलाई आत्मबल भर्ने काम गरें । पीसीआर परीक्षण गर्न सुझाव दिँदै रिपोर्ट पोजिटिभ आएमा कसरी बस्ने भनेर योजना सुनाएँ । उनमा कोरोना देखिएन ।

म भने आफ्नोभन्दा पनि आफ्नो ‘क्लोज कन्ट्याक्ट’ मा रहेका यस्तै साथीभाइको कारण बढी चिन्तित थिएँ । भदौ चौथो साता कोरोना भएको शंका लाग्नेबित्तिकै मैले परिवार, कार्यालय र साथीहरूसँग सामाजिक दूरी कायम गरिसकेको थिएँ । असोज २८ गते स्वाब दिनुभन्दा दुई दिनअघिबाट घरमै ‘सेल्फ क्वारेन्टाइन’ बसेको थिएँ । यसले गर्दा पनि हुनसक्छ, मेरो ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेर स्वाब परीक्षण गरेका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आयो ।

दुई साताको आइसोलेसनपछि आइतबार पुनः स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सेवा कार्यालयमा पुगेकी एक जना महिला पत्रकारले त्यस्तै छनक दिने अनुभूति सुनाइन् । उनका अनुसार कोरोना संक्रमण हुनुअघिसम्म निकै मन मिल्ने छिमेकीहरू अहिले के–कसो छ भनेर सोध्न त के घरमा सिधा पनि हेर्दैनन् । ‘त्यतिसम्म त ठिकै थियो, १ वर्षकी छोरीलाई समेत अछुतको व्यवहार गर्दा मन निकै कुँडिन्छ,’ उनले भनिन् । अहिले सरकारले लक्षण नदेखिएका र सामान्य अवस्थाका संक्रमितलाई होम आइसोलेसनमै बस्न प्रेरित गरिरहेको छ । तर, होम आइसोलेसनको वातावरण समाज ९छिमेकी० को व्यवहारमा निर्भर हुन्छ ।

मेरो ‘कोरोनाकाल’ झन्डै ३ सातासम्म सक्रिय रह्यो । एक दिन मलाई पनि संक्रमण हुन्छ भन्ने पहिल्यै लागेको थियो । यसका लागि ममात्र होइन, मेरो परिवारसमेत मनोवैज्ञानिक रूपमा मुकाबिला गर्न तयारी अवस्थामा थियो । आत्मविश्वास दह्रो भएको परिवार, असल छिमेकी र सकारात्मक ऊर्जा दिने शुभेच्छुकका कारण सहजै यसलाई परास्त गरें । अन्य कोरोना संक्रमितलाई परेको मनोसामाजिक असर सुन्दा लाग्ने गर्छ, छिमेकी हुन् त मेरोजस्ता ।

(नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य र कान्तिपुरका कर्णाली प्रदेश व्युरो प्रमुख कलेन्द्र सेजुवालको यो कोरोना डायरी कान्तिपुरबाट साभार गरिएको हो)