बुधबार, असोज २७, २०७८

शोकाकुल गाउँ, न्यास्रो घर

  
कर्णाली टाइम्स शनिबार, फागुन २९, २०७७

निमायल गाउँ

सुर्खेत । यही साताको बुधवार अछामबाट चार जनाको शव ल्याउने कुरा थियो । कर्णाली नदीको छेउमा रहेको कर्णाली राजमार्गको माथिल्लो भित्तामा ८ वटा बाँस ठाडो पारेर लहरै राखिएका थिए । नजिकै बसेका आफन्तहरुको आँखाका कुनाकुनामा आँशु अडिएका थिए ।
केही सयममै ती आँशुका थोपाहरु उनीहरुका गालामै हाम फाल्ने तरखरमा थिए । जसरी सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिईन् ।
अछामको मंगलसैनबाट ल्याउन लागिएका शवहरु पनि तिनै सुकी, उनकी दुई छोरी र एक छोराका थिए । दैलेखको निमायल गाउँका उनीहरुका नदीमा भेटिएका शवहरु पोष्टमार्टम गर्न अघिल्लो दिन अछाम जिल्ला अस्पताल लगिएको थियो । भित्तामा ठड्याईएका ति बाँसहरुमा पनि उनीहरुकै शव राखेर स्दगतको विधि पुर्याउनु थियो ।
अपत्यारिलो घटनापछि गाउँको अवस्था बुझ्न दैलेख गएका हामी १२ बजे घटना स्थलमा पुगेका थियौं । त्यहाँ रहेका मानिसले ५ बजेसम्म शवहरु आईपुग्ने जानकारी गराएपछि हामी सुकी बस्ने गरेको निमायल गाउँ जाने उकालो लाग्यौं ।

शव भेटिएको ठाउँ

हामी उकालो लाग्दै गर्दा निमायल गाउँका मानिसहरु भने ओरालो झरिरहेका थिए । रोकिएर धेरै मानिससँग कुरा गर्ने कोशिस पनि गर्यौं । कुरा गर्न कसैले मानेनन् । कतिपय मानिस त हामीले बोलाउन खोज्दा मुख छोपेर दौडिन्थे पनि ।
बोल्न सकुन् पनि कसरी । एकै घरका पाँच जना छिमेकी मरेको पीडा एकातिर थियो, अर्कोतिर अनुसन्धानको क्रममा रहेको शंकास्पद् घटना भएकाले सबैसँग त्यसबारेमा बोल्न हुँदैन भन्ने स्कुलिङ पनि । अर्को कुरा गाउँले पनि घटनाका बारेमा अनभिज्ञ नै थिए ।
करिब एक किलोमिटर उकालो काटेपछि सोही गाउँका वडा अध्यक्ष भेटिए । हामीले गाडीबाट झरेर उनीसँग कुरा गर्ने प्रस्ताव गर्यौं। ति वडा अध्यक्षले पनि हामीसँग १ मिनेट जति कुरा गरे । त्यसक्रममा उनले भने, ‘घटनाका विषयमा हामी सबै अनभिज्ञ छौं । अहिले शव आउने र बाँकी एक जना बालिकाको खोजी गरिरहेका छौं भनेर मलाई बोलाएका छन् । म हतारमा जान लागेको छु ।’
हतारमा ओरालो झरिरहेका वडा अध्यक्ष प्रायग बहादुर शाहीले भनेको ति नभेटिएकी बालिका पनि सुकीकै कान्छी छोरी हुन् । ५ बर्षकी कान्छी छोरी रजनीको ७ दिनसम्म पनि अत्तोपत्तो छैन । भेटका क्रममा वडा अध्यक्षले थपे, ‘गाउँमा गएर पनि खोई कोसँग कुरा होला र, सबै तल आईसक्नुभयो । शोकमा डुबेको गाउँ त भैगो सुनसान छ ।’
कर्णाली नदीमा मृत भेटिएका सुकीका छोराछोरीहरु पढ्ने स्कुलका शिक्षक र साथीहरुसँग भेट्न भनेर हामी निमायलको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पुग्यौं । साढे १ बजे नै परीक्षाको तालिका निकालेर विद्यालय बन्द भईसकेको रहेछ । विद्यालय बन्द भएपछि धेरै विद्यार्थीहरु पनि आफ्ना सहपाठीको सद्गत गर्ने ठाउँमा गईसकेका थिए ।
विद्यालय नजिकै एउटा पिपलचौतारो छ । चौतारोमा एक समूह बसिरहेको थियो । उनीहरुको अनुहारमा कुनै चमक थिएन । त्यही समूहमा बसेका एकजनाले हामीलाई सँगै गएर सुकी बडुवालको घर देखाईदिए ।

सुकी बडुवालको घर

ढुंगाले छाएको ठूलो घर, घरको माथिल्लो बारीमा गहुँबाली । दायाँबायाँ र तल्लो छेउमा छिमेकीका घर । सुकीका घरका तीनवटा ठूलठूला कोठा छन्, सबैमा ताल्चा लगाईएको थियो । हामीसँगै घर देखाउन गएका ती मानिसका अनुसार ति तीनवटै कोठामा छुट्टाछुट्टै परिवार बस्थ्यो ।
सुकीका श्रीमान मानसिंह बडुवालका पाँच भाई हुन् । तिमध्ये एक भाईको पहिल्यै मृत्यु भईसक्यो । अरु तीन भाई भारतमा बस्छन् । उनीहरु कहिलेकाहीँ मात्र आफ्नो जन्मथलो आउँछन् । मानसिंह भने रोजगारीका लागि सिजनमा भारत गएपनि प्रायः घरमै बस्छन् ।
मानसिंहलाई भाग लागेको एउटा कोठामा उनको परिवार बस्थ्यो । परिवार भए घरको रौनक फरक देखिन्थ्यो कि । तर उनका श्रीमति र तीन छोराछोरी मरिसके, एउटा छोरी वेपत्ता छिन् । घटनापछि मानसिंहलाई पनि प्रहरीले घरबाट टाढै लिएर आफ्नो निगरानीमा राखेको छ ।
मानसिंह–सुकीको घर मात्र न्यास्रो देखिएको थिएन । वरपरको गाउँ पनि उत्तिकै न्यास्रो देखिन्थ्यो । त्यो दुखद् घटनाको बारेमा बुझ्ने क्षमता नभएका सानासाना बालवालिका यताउती गर्दै थिए । ठूला मानिस भने न कसैसँग बोल्छन्, न त नियमित झैँ काम गर्छन् ।
सुकीको घरमा पालिएका बाख्रा र एउटा भैँसी कोही मानिस गयो कि कराउन थालिहाल्छन् । नियमित घाँसपानी खुवाउने आफ्ना मालिक नभएपछि ति पशुलाई समेत छिमेकीकै सहारामा बाँच्नु छ ।
‘यहाँ मास्तिर पनि आफन्त छन्, उनीहरुले यिनीहरुलाई घाँसपानी ल्याएर दिन्छन्, कतिपय बेला नजिकका यी घरका मान्छेले पनि घाँस हाल्दिन्छन् ।’ छिमेकी घरलाई देखाउँदै हामीसँग गएका एकजनाले भने ।
हामी साढे दुई बजे पुनः अन्तिम संस्कार गर्ने ठाउँमा पुग्यौं । त्यसबेला भर्खर पोष्टमार्टम गर्दैछन् भन्ने जानकारी आफन्तले पाए । ति शवहरु ६ बजेभन्दा पछि नै आउने पक्का भयो ।
उनीहरुले आफ्नो तयारी गर्दै गरे । तीन जना बालवालिकालाई गाड्नका लागि लस्करै तीनवटा खाडल खने । १५ बर्षमुनिका बालवालिकालाई नजलाएर जमिनमुनि गाड्ने चलन रहेछ । आमालाई भने जलाउनका लागि चिता चिन्न थाले ।
घाटमा पुगेका मानिसले खाडल खन्दै गर्द र चिता चिन्दै गर्दा नजिकका आफन्त डाँको छोडेरै रुन थाले । सबै तयारी भयो । जब आर्यघाटबाट देखिने अछामको डाँडाबाट मध्यपहाडी लोकमार्ग हुँदै पहेँलो रङको टिप्पर हर्न बजाउँदै ओरालो झ¥यो त्यसपछि झनै रुवाबासी हुन थाल्यो ।
हेर्दाहेर्दै टिप्पर लास बोकेर आर्यघाटमै आईपुग्यो । रुँदै गरेका आफन्तको झुण्डको बीचबाट प्लाष्टिकमा बेरिएका चारवटा लास निकालेर ल्याईयो । आफन्तले उनीहरुलाई हेर्न रुँदै लुछाचुडी गर्न थाले । केही पुरुष आफन्तले हतारहतार बालवालिकालाई खाडलमा हालेर पुरे । आमालाई चितामा राखेर जलाए ।
कर्णाली नदीको पानीले छोईएको किनारमा आमा सुकी बडुवाल जलिन् । त्यही माथितिरको ओभानो भुईमुनि छोरीहरु १४ बर्षकी कल्पना, ११ बर्षकी सरिता र ८ बर्षका छोरा ललित लस्करै पुरिए ।
आईतबार राति भएको घटनामा आमा सुकीले छोराछोरीलाई लिएर नदीमा हाम फालेको आशंका गरिएको छ । घटनाको भोलीपल्ट सोमबार बेलुका छोरीहरु कल्पना र सरिता हात बाँधिएको अवस्थामा मृत भेटिएका थिए । मंलबार बिहान हात बाँकिएकै अवस्थामा आमा सुकी र छोरा ललित भेटिएका थिए । सँगै गएकी भनिएकी कान्छी छोरी ५ बर्षकी रजनीको अवस्था भने अझैँ अज्ञात छ ।
प्रहरीका अनुसार खोजी कार्य भने जारी छ ।

अन्तिम संस्कार गरिएको ठाउँ ।