शनिबार, कार्तिक १०, २०८१

सरकारी अधिकारीको परिचयपत्र देखाएर ठगी गर्ने एक जना पक्राउ

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ६, २०७७


सुर्खेत । नेपालमै नभएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बनाएर ठगी गरिरहेका जाजरकोटका एकजना पक्राउ परेका छन् । बिहिवार कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाड नगरपालिका–२ डेढ्कुलाका २७ वर्षीय दिपक बुढालाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउ गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । पक्राउ पर्दा उनले नागुनाथ गाउँपालिका हुम्ला लेखिएको परिचयपत्र बोकेका थिए ।
नेपालमै नागुनाथ नाम गरेको कुनै गाउँपालिका छैन । उनले उक्त परिचयपत्रमा आफूलाई प्रमुख प्रशासकीय अधिकृत लेखेका छन् । उनी यसअघि पनि विभिन्न जिल्लाहरुमा सहायक प्रमुख जिल्ला अधिकारीको परिचय पत्र बनाएर ठगी गर्ने गरेको खुलेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले उनलाई अड्डासार गरी काठमाडौंतर्फ लगिएको छ । पक्राउ परेका बुढाका साथबाट विभिन्न परिचयपत्र र सिलाउँदै गरेका सरकारी पोशाकहरु पनि बरामद् गरिएको प्रहरीले जनाएको छ ।